स्थानीयवासीले जनश्रमदानबाट पैदल पुल निर्माण गर्दै
वि.सं.२०८३ असोज २७ मंगलवार ११:०८
shares

सारांश
- स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन् ।
रसुवा । स्थानीयवासीले जनश्रमदानबाट आपत्कालीन पैदल पुल निर्माण सुरु गरेका छन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीले स्याफ्रुबेंसीस्थित पक्की पुलसहित सडक सञ्जाल पूर्ण रूपमा बगाएपछि आवतजावतमा कठिनाइ भएपछि स्थानीयको सक्रियतामा भोटेकोशी खोलामा पुल निर्माण सुरु गरिएको हो ।
सरकारले सो क्षेत्रमा बेलीब्रिज निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी गरिरहेको भए पनि सो कार्य पूरा हुन समय लाग्ने देखिएपछि स्थानीय समुदाय आफैँ सक्रिय भएका हुन् ।
बाढीका कारण सडक सम्पर्कविच्छेद हुँदा किसानलाई कृषि उत्पादन बजारसम्म पुर्याउन तथा दैनिक आवतजावतमा कठिनाइ हुँदै आएको छ ।
श्रमदानमा जुटेकामध्ये सामाजिक अभियन्ता सोनामछिरिङ तामाङले लामो समयसम्म बाटो अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य सामग्रीको चरम सङ्कट र स्वास्थ्योपचारमा समेत समस्या पर्न थालेपछि स्थानीयस्तरमै स्रोत र जनशक्ति जुटाई काम थालिएको बताए।
“बाढीले स्याफ्रुबेँसी क्षेत्र तहसनहस बनाएपछि हाम्रो दैनिकी कष्टकर बनेको छ”, तामाङले भने, “आपत्कालीन विकास निर्माणकार्यमा गाउँवासीको भौतिक उपस्थिति र श्रमदानको उच्च महत्त्व रहेकाले हामीले सम्पूर्ण गाउँवासीलाई फुर्सद मिलाई श्रमदानमा सहभागी हुन हार्दिक अनुरोधसमेत गरेका छौँ ।” सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा केही दिनभित्रै स्याफ्रुबेँसीमा पुल निर्माण हुने विश्वास लिइएको छ ।
























