काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘काजी’ का बारेमा के सोच्छन् दयाहाङ ?

390
shares

काठमाडौं । अभिनेता दयाहाङ राई नेपाली फिल्मका अभिनेतासँगै पात्रलाई जीवन्त बनाउने कलाकारका रूपमा परिचित छन् ।

रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरेका राईले ‘लुट’ र ‘कबड्डी’जस्ता फिल्ममार्फत आफूलाई दर्शकमाझ स्थापित गरे । खाइलाग्दो शरीर, अग्लो कद र सुन्दर हुनैपर्छ भन्ने परम्परागत मान्यतालाई भत्काउँदै उनले ‘हिरो’को नयाँ परिभाषा स्थापित गर्न सफल भए ।

चिटिक्क परेको अनुहार, सुकिलो भेषभूषा, नृत्य र द्वन्द्वमार्फत अभिनय गरिरहेका अभिनेताहरूको भीडमा राईले दर्शकसँगको भौतिक दूरी घटाउँदै फरक शैलीको सुरुआत गरे ।

‘कबड्डी’मा उनले निर्वाह गरेको काजीको भूमिका दर्शकमाझ लोकप्रिय छ । यी पात्रलाई दर्शकले रुचाउनुको कारण उनीहरूलाई पर्दाबाहिर पनि आफ्नै जीवनसँग जोडेर हेर्न सक्नु रहेको अभिनेता राईको बुझाइ छ ।

‘ती फिल्महरूमा देखिएका कलाकारहरू टोल र छरछिमेकमा भेटिने पात्र नै थिए । दर्शकले त्यहाँ आफूलाई पाउनुभयो । त्यही कारण ती पात्रले दर्शकसँग सजिलै सम्बन्ध जोड्न सफल भए । त्यसकारण ती पात्रहरू मनभित्र पनि छन्, म कहिलेकाहीँ ती पात्रले के सोच्छन्, समयसँगै कस्तो परिवर्तन आयो होला भन्ने परिकल्पना पनि गर्छु । ती पात्रहरू मेरा नजिक छन्’, अभिनेता राईले भने ।

मण्डला नाटकघर स्थापना भएकै समयमा निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ बनाउने योजना सुनाएका रहेछन् । फिल्मका लागि भएको छलफलमा प्रस्तुत आइडिया मन परेपछि दयाहाङसँगै निर्देशक निश्चल बस्नेत पनि जोडिएर फिल्म निर्माण गर्ने योजना बनेको थियो ।

‘हामीसँग पर्याप्त पैसा नभएपनि जोडजाम गरेर फिल्म बनाउने निधो गरी काम गर्यौं । ‘कबड्डी’को कथा नयाँ थियो, यसले नयाँ शैलीलाई परिचित गरायो। त्यसबाट हामीले व्यावसायिक रूपमा समेत लाभ लिन सक्यौँ’, अभिनेता राईले भने ।

उक्त फिल्ममा उनले काजीको भूमिका निर्वाह गरेका छन् । आफ्नी सोल्टिनीलाई चोखो माया गर्ने भए पनि काजीलाई प्रेम व्यक्त गर्ने शैली थाहा हुँदैन । यही कारण उनले विभिन्न अड्चन भोग्नुपर्छ । फिल्मका शृङ्खला थपिँदै गए, दर्शकको संख्या बढ्दै गयो । घरेलु बजारसँगै डायस्पोरामा पनि फिल्मले आफ्नो दर्शक बनायो । तर, काजीको प्रेममा आउने अड्चन भने शृङ्खलासँगै बढ्दै गए ।

‘कबड्डी’लाई प्रेमकथामा आधारित फिल्मका रूपमा लिन सकिने राई बताउँछन् । ‘कबड्डी एकोहोरो प्रेम गर्ने काजी नामक पात्रको कथा हो । उसले मन पराएको मान्छेलाई इमानदारीपूर्वक प्रेम गर्छ, तर प्रेम व्यक्त गर्ने शैली मिलाउन सक्दैन। यही कारण उसको शैलीमा दर्शकले हास्यरस पाउनुभयो। यस्तो प्रेम गर्ने मान्छे पनि छन्, हुन्छन् । हामीले नियमितभन्दा फरक काम गर्ने कोसिसकै सिलसिलामा काजी पात्रको उदय भएको हो’, अभिनेता राईले भने ।

त्यसो त ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘फाइनल म्याच’ भन्दै तयार गरिएको थियो । दर्शकले पनि त्यसलाई अन्तिम शृङ्खलाका रूपमा लिएका थिए । त्यसको प्रभाव बक्स अफिसमा समेत देखियो । फिल्मले नेपालमा मात्रै करिब २४ करोड रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको थियो । तर, निर्देशक रामबाबु गुरुङले ‘आफ्टर द फाइनल म्याच’ नाम दिँदै ‘कबड्डी’को नयाँ शृङ्खला तयार गरेका छन् । दसैँलाई लक्षित गर्दै फिल्म आगामी कात्तिक ६ गते प्रदर्शनमा आउँदै छ ।

नयाँ शृङ्खला निर्माण गर्नुको कारण दर्शकको माया र अपेक्षा रहेको निर्देशक गुरुङ बताउँछन् । ‘हामीले निर्माण गरेका पात्रसँग दर्शक भावनात्मक रूपमा जोडिनुभएको छ । ती पात्रको हामीलाई मात्र नभई दर्शकलाई पनि माया लाग्छ । तर, यही कारण नयाँ शृङ्खला आएको होइन । छलफलका क्रममा एउटा कथा भेट्यौँ र पाँचौँ शृङ्खला बन्यो’, निर्देशक गुरुङले भने ।

अभिनेता राई पनि काजीलाई फरक स्वरूपमा दर्शकमाझ ल्याउन चाहन्छन् । उनी काजीको युवा अवस्थासँगै वृद्धावस्थाको समय, परिवेश र मनोविज्ञानलाई समेत पर्दामा उतार्न चाहनछन् ।

‘हामीले काजीको युवा अवस्था देख्यौँ, प्रेमप्रतिको इमानदारी देख्यौँ। तर, समयसँगै त्यो पात्र पनि परिवर्तन हुन्छ। जब उसमा दायित्व आउँछ र परिपक्व हुन्छ, त्यसपछि उसले के गर्छ, उसको स्वभाव कस्तो हुन्छ? त्यो परिवेश र समयलाई निर्वाह गर्न मन छ’, अभिनेता राईले भने।

अभिनेता राईको विचारमा निर्देशक गुरुङ पनि सहमत छन् । उनीसमेत ‘कबड्डी’का पात्रलाई फरक स्वरूपमा पर्दामा ल्याउन चाहन्छन् ।

‘दयाजीले भनेझैँ मलाई पनि ती पात्रको परिपक्वता देखाउने रहर छ । तर, त्यसका लागि पात्रहरू नै एउटा उमेरमा पुग्नुपर्छ । त्यसपछि पात्रको बाहिरी स्वरूपसँगै परिवर्तन भएको मनोविज्ञानलाई पर्दामा चित्रण गर्न सकिन्छ’, निर्देशक गुरुङले भने ।

उनले ‘कबड्डी’को आगामी शृङ्खला निर्माण गर्ने सम्भावनालाई नकारेका छैनन् । यद्यपि, उनी यसका शृङ्खलालाई निश्चित समयको अन्तरालमा दर्शकमाझ ल्याउन चाहन्छन् ।