गृहपृष्ठ संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल
संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल
काठमाडौँ, १६ असोजः
प्रतिनिधिसभा बैठक
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन ।
संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन ।
संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन् ।
सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन् ।
प्रकाशित समय : १६:५२ बजे


















