गृहपृष्ठ सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता
सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड डलरको जोखिम साझेदारी सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधासम्बन्धी सम्झौता भएको छ ।
स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको उक्त सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्नेछ ।
यस व्यवस्थाले देशभरका लघु, साना तथा मझौला उद्यममा कर्जा विस्तार गर्ने बैंकको क्षमता थप सुदृढ हुने सिद्धार्थ बैंकले जनाएको छ । यो नेपालमा आईएफसीको पहिलो जोखिम साझेदारी पहल भएको बैंकको भनाइ छ ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आईएफसीसँग भएको ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा एमएसएमई कर्जा पोर्टफोलियो विस्तारका लागि महत्वपूर्ण कदम हुने बताए ।
‘साना व्यवसायीले चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेको यस कठिन समयमा यस सुविधाले देशभरका साना व्यवसायीलाई कर्जा प्रवाह गर्ने हाम्रो क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा गरेका छौं,’ उनले भने, ‘विवेकपूर्ण कर्जा मापदण्ड कायम राख्दै यस क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलतालाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पुर्याउने बैंकको लक्ष्य छ ।’
सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाएको बैंकले जनाएको छ । सन् २०१४ मा सिद्धार्थ बैंक आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा आबद्ध भएपछि विश्वव्यापी करेस्पोन्डेन्ट बैंकहरूको सञ्जालसँग जोडिन थप सहज भएको थियो ।
त्यसपछि सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलर बराबरको सिन्डिकेटेड कर्जा सुविधा लिएको थियो । बैंकका अनुसार उक्त कर्जा नेपालको वित्तीय क्षेत्रमा आईएफसीबाट प्रवाह भएको ठूलो तथा पहिलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जा थियो ।
यसका अतिरिक्त सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैङ्गिक वित्त, डिजिटल वित्त तथा जलवायु वित्तका क्षेत्रमा संस्थागत क्षमता अभिवृद्धिका लागि आईएफसीसँग परामर्श सेवामार्फत समेत साझेदारी गर्दै आएको जनाएको छ ।
बैंकले आगामी दिनमा पनि आईएफसीसँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित समय : ०८:३४ बजे


















