गृहपृष्ठ संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने प्रतिनिधिसभा बैठक काठमाडौँ, १२ असोजः सभामुख डोलप्रसाद अर्याल सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति आगामी बुधबार चयन गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने गरी तालिका तोकेका हुन् । निर्वाचन बुधबार दिउँसो २ः०० बजे हुनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी भएर आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला र आसपासका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिको पृष्ठभूमिमा प्रतिनिधिसभाले १५ सदस्यीय उक्त संसदीय विशेष समिति गठन गरेको थियो ।

संसद्ले उक्त समितिको कार्यावधि तीन महिना तय गरेको छ र यसको म्याद पछि थप गर्न सकिने प्रावधान पनि राखिएको छ । भोटेकोशी-त्रिशूली विपद्को कारण, यसको प्रभाव तथा क्षतिको अध्ययन तथा अनुगमन, विपद्को उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन यसको कार्यक्षेत्र रहेको छ ।

साथै समितिको कार्यदेशमा हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने पनि कार्यादेश दिइएको छ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा पनि आवश्यक अनुगमन तथा कार्य गर्नेछ । समितिले विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीका सम्बन्धमा अधययन गरेर आवश्यक सुझावहरु प्रस्तुत गर्नेछ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु