गृहपृष्ठ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
काठमाडौं । प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पु-याएकाले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन ।
उनिहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पु-याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गरे ।
सांसद पद्यकुमारी अर्यालले गत भदौको रसुवा बाढीको असर कम नहँुदै फेरि पछिल्लो वर्षासँगैको बाढी र पहिरोबाट जोखिम तथा क्षति व्यहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराइन ।
उनले बाढीका कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल, व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज, उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गरे ।
सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनस्र्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषयमा सरकारको धारणा माग गरेका छन।
सांसद ऐनबहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनीतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराए ।
सांसद सुशील खड्काले पछिल्लो बर्षपछिको बाढीले खास गरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र अलि बढी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सडक निर्माणको काम तत्कालै अघि बढाउनको लागि माग गरे । उनले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद् आइराखेकाले पनि राज्यले सजग र सर्तकता अपनाउन जरुरी रहेको बताए ।
सांसद बलावती शर्माले बाढीपहिरोबाट बाग्लुङ र कास्की जोड्ने पुल र सडक लगायतका संरचनामा क्षति पु-याएकाले सदरमुकामसँग पालिकाको सडक सञ्जाल अवरुद्ध भएको बताइन । उनले बाढीमा प्रभावितका लागि उचित राहत र पुनस्र्थापनाको व्यवस्थापनको लागि आग्रह गरिन ।
सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा आएर जवाफ दिने कार्यसूचीलाई फेरि राख्न सदन र सरकारको ध्यानाकर्षण गराए ।
सांसद भरत गिरी चाडपर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरेर मूल्यवृद्धि गर्न खोजिएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद सोम शर्माले बाग्लुङको बाढीपहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरेर आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन ध्यानाकर्षण गराएका छन । सासंद समिना मियाँले बाढीबाट चितवनको विभिन्न स्थानमा नारायणीले कटान गरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराइन ।
सांसद मनिष खनाल नारायणी नदीको बहाव बढ्दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव पारेकाले तत्काल राहतको व्यवस्था र दीर्घकालीन समाधान खोज्नको लागि सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित समय : १४:२३ बजे


















