गृहपृष्ठ पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि राति प्रहरीबाट पक्राउ गरिएको भन्दै प्रश्न उठाए । सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको उनको भनाइ थियो ।

उनले भने,‘ पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई यो थ्रेट भनेर वास्तवमा राति प्रहरीबाट पक्राउ गरियो । यो थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्राउ गरेर लगिएको छ । सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकारका कर्मीहरूलाई पनि भेट्न दिइएन । त्यस्तै गरिकन अहिले चाहिँ सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ । यी घटनाक्रमले सरकारले अहिले के भन्दाखेरि कानुन, विधि, प्रक्रिया जुन तरिकाले हामी सदनमा बहस गरिरहेका छौँ, छलफल गरिरहेका छौँ र सभ्य तरिकाले एउटा मुलुकलाई चलाउने कुराको बारेमा नीति निर्धारण गर्ने कुरामा जुन हामी छलफल गरिरहेका छौँ र सरकारका यी हर्कतहरूको बारेमा यसो देख्दै जाँदाखेरि सरकार किन बाटो बिराइरहेको छ ?’

यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद् व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताए ।

उनले दशैं–तिहारको समयमा सार्वजनिक यातायातमा ‘सिन्डिकेट’ लगाउने गरी हचुवाका भरमा निर्णय गरिएको भन्दै त्यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए । वैकल्पिक व्यवस्था नगरी सार्वजनिक यातायात सञ्चालनमा निर्णय गर्दा सर्वसाधारणलाई समस्या पर्ने उनको भनाइ थियो ।

सरकारले विगतमा गरेका प्रतिबद्धता र वाचाअनुसार काम गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै उनले सरकारका पछिल्ला गतिविधिप्रति संसद्को ध्यानाकर्षण गराए ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु