गृहपृष्ठ सोह्र श्राद्धमा के–के गरिन्छ ?

सोह्र श्राद्धमा के–के गरिन्छ ?

सोह्र श्राद्धमा के–के गरिन्छ ?

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध सुरु भएको छ । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ ।

संस्कृतिविद् डा.माधव भट्टराईले सोह्र श्राद्धलाई पितृको सम्मान र स्मरण गर्ने महत्वपूर्ण परम्पराका रूपमा लिनुपर्ने बताए । उनले वैदिक तथा सनातन परम्पराअनुसार मानिसले जन्मिँदै पितृ ऋण, ऋषि ऋण र देव ऋण गरी तीन प्रकारका ऋण बोकेर आउने उल्लेख गरे ।

उनका अनुसार ऋषिपञ्चमीमा ऋषिहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरिन्छ भने सोह्र श्राद्धमा पितृप्रति श्रद्धा व्यक्त गर्ने परम्परा छ । ऋषिहरूले दिएको ज्ञान र पितृहरूले दिएको संस्कार तथा वंश परम्पराको सम्मान गर्नु नेपाली समाजको पुरानो संस्कार रहेको उनले बताए ।

उनले भने, ‘जसले पितृलाई खुसी पार्दैन, उसका सन्तान असल हुँदैनन्, उसलाई समृद्धि हुँदैन, सधैँ दुखै—दुःख चिन्तै—चिन्ता हुन्छ । त्यस्तो किसिमको मान्यता रहि आएको छ । त्यसैले सोह्र श्राद्धमा पितृको श्राद्ध गर्ने, सम्मान गर्ने, अरू दिन नसके पनि आफ्नो मुख्य पितृ बाबु अथवा हजुरबुबाको पनि गर्ने चलन छ । नेपाली समाजमा आफ्नो घरको मुख्य पितृको दिन श्राद्ध गर्ने परम्परा हो ।’

डा. भट्टराईले पितृलाई सम्मान गर्ने परम्परा नेपाली समाजमा विशेष महत्वका साथ रहँदै आएको बताए । उनले सोह्र श्राद्धका १६ दिनमध्ये सबै दिन श्राद्ध गर्न नसक्नेले आफ्नो मुख्य पितृको तिथिमा श्राद्ध गर्ने चलन रहेको उल्लेख गरे ।

उनका अनुसार सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने समयसँग सोह्र श्राद्धको सम्बन्ध छ । यस अवधिमा पितृको श्राद्ध, तर्पण र पिण्डदान गर्ने धार्मिक परम्परा रहेको उनले बताए ।

श्राद्धमा खानपानका आफ्नै नियम

संस्कृतिविद् डा.भट्टराईले सोह्र श्राद्धका क्रममा कर्ताले खानपानमा समेत विशेष संयम अपनाउने परम्परा रहेको बताए । श्राद्ध गर्ने व्यक्तिले हविष्य भोजन गर्ने, अघिल्लो दिन एक छाक मात्र खाने, श्राद्धका दिन तर्पण तथा पिण्डदान गर्ने र त्यसपछि इष्टमित्र, छोरी–चेली, ज्वाइँ, भान्जा तथा पुरोहितलाई भोजन गराउने चलन रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘सोह्र श्राद्धमा खानपानमा विशेष ध्यान दिनुपर्छ, हविष्य खानुप-यो, चोखो खानुप-यो, श्राद्धकै दिन एक छाक मात्र खानुप-यो । श्राद्धको अघिल्लो दिन एक छाक खाएर श्राद्धको दिन श्राद्ध पिण्डदान गर्नुप-यो, तर्पण गर्नुप-यो । त्यसपछि गएर इष्टमित्रलाई अथवा आफ्ना छोरी, चेली, ज्वाइँ, भान्जाहरूलाई पनि भोजन गराउने, पण्डित पुरोहितहरूलाई भोजन गराउने पर्छ ।’

उनका अनुसार सोह्र श्राद्धको अवधिमा माछामासु, लसुन, प्याजलगायतका खाद्य पदार्थ नखाने परम्परा पनि छ । कर्ताले आफ्नो क्षमता र परम्पराअनुसार धार्मिक विधि पूरा गर्नुपर्ने उनले बताए ।

घरमै श्राद्ध कि तीर्थस्थलमा ?

डा.भट्टराईले श्राद्ध घरमै गर्नु उत्तम हुने बताए । तीर्थस्थल वा पवित्र नदीमा श्राद्ध गर्दा पनि राम्रो हुने धार्मिक मान्यता रहे पनि त्यसका लागि अनावश्यक खर्च र तडकभडक गर्न आवश्यक नरहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘आफ्नो घरमा जे उपलब्ध छ, आफ्नो हैसियतअनुसार पितृप्रति श्रद्धा राखेर श्राद्ध गर्नु उत्तम हो। आडम्बर र देखावटीभन्दा श्रद्धा महत्वपूर्ण हुन्छ ।’

श्राद्धका लागि आवश्यक सामग्री

श्राद्धका लागि पवित्र जल, कुश, पिण्डदानका सामग्री तथा गाईको दूध आवश्यक पर्ने उनले बताए । परम्परागत रूपमा गाईको दूध प्रयोग गरी पिण्ड तयार गर्ने चलन रहेको भए पनि पछिल्लो समय घरघरमा गाई पाल्ने प्रचलन घट्दै गएको उनले उल्लेख गरे ।

उनका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म प्रत्येक दिन श्राद्ध गर्ने चलन कतिपय परिवारमा अझै कायम छ । उनले आफ्नो पितृको तिथिमा श्राद्ध गर्ने प्रचलन पनि व्यापक रहेको बताए ।

संस्कृतिविद् भट्टराईले पर्व तथा संस्कार मनाउँदा अनावश्यक खर्च र आडम्बर नगरी आफ्नो क्षमता र परम्पराअनुसार कर्म गर्न आग्रह गरे । उनले पितृको सम्मान, श्रद्धा र पारिवारिक संस्कारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु