गृहपृष्ठ कांग्रेस रुपन्देहीमा वडा–पालिका अधिवेशन सम्पन्न, ४२ सय ६ क्षेत्रीय प्रतिनिधि निर्वाचित

कांग्रेस रुपन्देहीमा वडा–पालिका अधिवेशन सम्पन्न, ४२ सय ६ क्षेत्रीय प्रतिनिधि निर्वाचित

कांग्रेस रुपन्देहीमा वडा–पालिका अधिवेशन सम्पन्न, ४२ सय ६ क्षेत्रीय प्रतिनिधि निर्वाचित

भैरहवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीमा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न भएको छ। जिल्लाका १५५ वटै वडा र १६ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका संयोजक रामचन्द्र गौतमका अनुसार असोज ४ गते १५२ वडामा निर्वाचन भएको थियो भने रोकिएका तीन वडामा असोज ६ गते मतदान सम्पन्न भएको हो। त्यसैगरी असोज ७ र ८ गते जिल्लाका सबै १६ पालिकाको अधिवेशन सम्पन्न भएको छ।

रुपन्देहीका १५५ वडामध्ये १३१ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २४ वडामा निर्वाचनमार्फत नेतृत्व चुनिएको छ। वडा अधिवेशनबाट जिल्लाभर ४ हजार २०६ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचित क्षेत्रीय प्रतिनिधिमध्ये ९८४ महिला, १८१ दलित, २४३ युवा, १४७ अपाङ्गता भएका व्यक्ति, १५५ श्रमिक, ७८ मुस्लिम, १८४ आदिवासी जनजाति, १५१ अल्पसंख्यक र २७८ मधेसी समुदायका प्रतिनिधि रहेका छन्।

पालिकातर्फ १६ मध्ये सात पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने नौ पालिकामा निर्वाचनमार्फत नेतृत्व चुनिएको छ।

बुटवल उपमहानगरपालिकाको सभापतिमा ज्योति भण्डारी, तिलोत्तमामा नारायण ढकाल, सिद्धार्थनगरमा देवराज न्यौपाने, सैनामैनामा विमल ज्ञवाली, देवदहमा अमर लामिछाने र लुम्बिनी सांस्कृतिक नगरपालिकामा वीरेन्द्रबहादुर त्रिपाठी निर्वाचित भएका छन्।

त्यस्तै कञ्चन गाउँपालिकामा टेकबहादुर गुरुङ, ओमसतियामा अखिलेश्वर पाण्डे, मायादेवीमा अकलेस यादव, कोटहीमाईमा राजेन्द्रप्रसाद यादव, गैडहवामा योगेन्द्रप्रसाद चौधरी, रोहिणीमा अकवाल खाँ, सियारीमा सूर्यनारायण यादव, मर्चवारीमा जनार्दन यादव, सम्मरीमाईमा नागेन्द्र सिंह र शुद्धोधनमा दामोदर पौडेल निर्वाचित भएका छन्।

क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ को ‘क’बाट ४४६ र ‘ख’बाट ४२० गरी ८६६, क्षेत्र नम्बर २ बाट ८५५, क्षेत्र नम्बर ३ बाट ९०६, क्षेत्र नम्बर ४ बाट ८१८ र क्षेत्र नम्बर ५ बाट ७६१ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्।

अब प्रदेशसभा क्षेत्रीय समिति ‘क’ र ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्वाचन हुनेछ। पूर्वनिर्धारित असोज १० गतेको तालिका मौसमका कारण संशोधन गरी असोज ११ गते प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ तथा असोज १३ गते प्रतिनिधिसभा क्षेत्रको निर्वाचन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका संयोजक गौतमका अनुसार मौसमको अवस्था हेरेर आवश्यक निर्णय गरिने भए पनि निर्वाचन टोली, जिल्ला कार्यसमिति र पार्टी नेतृत्व तयारी अवस्थामा छन्।

वडा तथा पालिका अधिवेशनमा युवा पुस्ताको सहभागिता उत्साहजनक रहेको निर्वाचन समितिले जनाएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधिले प्रदेश निर्वाचन कार्यसमिति चयन गर्नेछन् भने त्यसपछि क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु