गृहपृष्ठ भोटेकोशी विपद् : पुरिएका सुरुङमा उद्धार सबैभन्दा जटिल र साहसिक अध्याय
भोटेकोशी विपद् : पुरिएका सुरुङमा उद्धार सबैभन्दा जटिल र साहसिक अध्याय
काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धारलाई सबैभन्दा जटिल र साहसिक कार्यका रूपमा उल्लेख गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो। सेनाका अनुसार अभियानमा ९ हजार ३०० भन्दा बढी सैनिक परिचालन गरिएको थियो।
सडक सञ्जाल अवरुद्ध भएपछि हवाई उद्धारलाई प्राथमिकता दिइएको थियो। एमआई–१७ सहित सातवटा सैनिक हेलिकप्टर तथा निजी क्षेत्रका हवाई साधन परिचालन गरी त्रिशूली र धुन्चेमा आधार बनाएर उद्धार तथा राहत सामग्री ढुवानी गरिएको थियो।
सेनाका अनुसार अभियानका क्रममा ४ हजार २४२ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डरसमेत हवाई तथा ड्रोनमार्फत पुर्याइएको थियो।
जमिनमा पनि नदी किनार, जङ्गल, डाँडाकाँडा तथा बाढी र पहिरो प्रभावित क्षेत्रमा पैदल गस्ती र खोजी अभियान सञ्चालन गरिएको सेनाले जनाएको छ। थर्मल ड्रोन तथा आधुनिक उपकरण प्रयोग गरी सम्भावित स्थानको पहिचानसमेत गरिएको थियो। सेनाले १ हजार ४५१ शवको व्यवस्थापनमा सहयोग गरेको जनाएको छ।
सेनाका अनुसार जलविद्युत् आयोजनाका सुरुङभित्र गरिएको खोज तथा उद्धार अभियान सबैभन्दा जोखिमपूर्ण थियो। बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर प्रयासपछि सात जनालाई जीवितै उद्धार गरिएको थियो।
त्रिशूली–३ ‘ए’ आयोजनामा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर तथा नियन्त्रित विस्फोटमार्फत सुरुङको क्राउन हेड खोली अक्सिजन पम्प गरिएको थियो। यस क्रममा भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ को अडिट सुरुङबाट २२५ मिटर गहिराइमा रहेका चिनियाँ नागरिकलाई रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी उद्धार गरिएको थियो। सो क्षेत्रमा ३७ वटा शवसमेत सङ्कलन गरिएको थियो।
त्यस्तै, खोज तथा उद्धार टोलीले करिब १ हजार ५० मिटर वैकल्पिक बाटो निर्माण गरी चिलिमे सुरुङमा ब्रेकथ्रु गरेपछि पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गरेको सेनाले जनाएको छ। रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा पनि उत्खनन तथा खोजी जारी राखिएको थियो।
सेनाका अनुसार मित्रराष्ट्रका जनशक्ति तथा प्रविधिसमेत परिचालन गरी सुरुङभित्रको खोज तथा उद्धारमा सहकार्य गरिएको थियो।
खोज तथा उद्धारसँगै बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई पनि प्राथमिकता दिइएको सेनाले जनाएको छ। त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गरी ४ हजार ३ जनालाई प्रत्यक्ष चिकित्सा सेवा प्रदान गरिएको थियो।
सुरुङ तथा विकट क्षेत्रमा गम्भीर अवस्थामा भेटिएका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर उपचार गरिएको थियो। विस्थापितका लागि बनाइएका अस्थायी आवास तथा होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै संक्रमण रोकथामका लागि निसङ्क्रमण अभियानसमेत सञ्चालन गरिएको थियो।
विपद्पछि प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन पूर्वाधार पुनःस्थापनामा पनि सेना परिचालित भएको थियो। नुवाकोटको देवीघाटस्थित तादी नदीमा ६० मिटर लामो र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको प्रयासपछि जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।
स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणीघाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिएको छ। बेत्रावतीमा बेलीब्रिज निर्माणका लागि आवश्यक पहुँचमार्ग निर्माणको कामसमेत अघि बढाइएको छ।
नेपाली सेनाका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रतिकूल मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तर पहिरो तथा सुरुङभित्रको लेदो र चट्टानका बीच उद्धार अभियान सञ्चालन गरिएको बताउनुभयो।
उहाँका अनुसार भोटेकोशी विपद्ले विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने सन्देश दिएको छ।
सेनाले नेपाल सरकारको निर्देशनअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह र स्थानीय समुदायबीचको समन्वय तथा सहकार्यले खोज, उद्धार, स्वास्थ्य सेवा र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।
प्रकाशित समय : ०६:३२ बजे


















