गृहपृष्ठ प्रसूति गृहमा डिजिटल सेवा विस्तारदेखि आईभीएफ सेवा सहज बनाउने तयारी
प्रसूति गृहमा डिजिटल सेवा विस्तारदेखि आईभीएफ सेवा सहज बनाउने तयारी
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन डिजिटल प्रणाली विस्तारदेखि आईभीएफ सेवाको लागत घटाउनेसम्मका काम अघि बढाएको छ ।
अस्पतालका निर्देशक तथा गाइनो डाक्टर श्रीप्रसाद अधिकारीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा अस्पतालमा सेवाग्राहीलाई सहजीकरण गर्न विभिन्न डिजिटल प्रणाली लागू गरिएको र थप प्रणाली कार्यान्वयनको तयारी भइरहेको बताए।
उनले भने, ‘सरकारले अहिले निर्देशन दिएको छ । अस्पतालको सरसफाइ गर्ने, गुणस्तरीय सेवा दिने र सेवाग्राहीहरूलाई मीठो व्यवहार गर्ने। यी कुराहरूलाई ध्यान दिएर हामीले दैनिक रूपमा तालिमहरू दिने, बोल्न सिकाउने काम पनि गरिरहेका छौँ।’
अधिकारीका अनुसार सेवाग्राहीको सहजताका लागि यस वर्ष एउटा टिकट काउन्टर थपिएको छ। अनलाइन प्रणालीलाई समेत थप व्यवस्थित गर्ने काम भइरहेको उनले बताए।
अस्पतालले क्यूआरमार्फत ल्याब रिपोर्ट उपलब्ध गराउँदै आएकोमा अब मोबाइल एसएमएसमार्फत नै रिपोर्ट उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताए।
त्यस्तै, सेवाग्राहीको भीड व्यवस्थापन गर्न टोकन प्रणालीलाई डिजिटलाइज गरिएको उनले बताए । उनका अनुसार डिजिटल टोकन प्रणालीबाट सेवाग्राहीले आफ्नो पालोको अवस्था हेर्न सक्ने भएकाले लामो समय अस्पतालमै लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ।
उनले भने, ‘यतिबेला हामी मोबाइलमा एसएमएसमार्फत पनि रिपोर्ट उपलब्ध गराउनेगरी काम गरिरहेका छौं । यो काम अन्तिम चरणमा पुर्याएका छौं । एसएमएसमै रिपोर्ट जाने सिस्टम गर्दैछौँ, जसले गर्दा सेवाग्राहीहरूलाई रिपोर्ट हेर्न अस्पताल धाउनु परेन । पहिला म्यानुअल टाइपको टोकन सिस्टम थियो, लाइन बस्नु पर्दथ्यो । अहिले हरेक सेवा डिजिटलाइज गरेका छौं ।’ उनका अनुसार यसले सेवाग्राहीको सन्तुष्टि बढाएको छ। अस्पतालले फोनमार्फत सूचना लिन सेवाग्राहीलाई हुने समस्या समाधान गर्न एआईमा आधारित सूचना प्रणालीसमेत निर्माण गरिरहेको अधिकारीले बताए।
उनले भने, ‘पटक–पटक फोन गर्दा पनि इन्फर्मेसन पाउन गाह्रो हुने, फोन इन्गेज हुने यस्ता समस्याहरू धेरै आएको हुनाले यसको समाधानको लागि एआई जेनेरेटेड इन्फर्मेसनको व्यवस्था गरेका छौं ।’
उनका अनुसार उक्त प्रणालीमा अस्पतालका ओपीडी, डाक्टरको समय, पेइङ सेवा, विभिन्न ब्लक, बेड नम्बरलगायतका विवरण राखिनेछ । अस्पतालले आगामी दिनमा बेड एलोकेसनलाई समेत डिजिटल प्रणालीमा लैजाने तयारी गरेको उनले बताए।
आईभीएफ सेवामा केन्द्रीय अभिलेखीकरण आवश्यक
अधिकारीले आईभीएफ तथा भ्रुणणसम्बन्धी सेवाका लागि नेपालमा स्पष्ट कानुनी व्यवस्था र केन्द्रीय अभिलेखीकरण आवश्यक रहेको बताए।
उनले भने, ‘नेपाल सरकारले तुरुन्तै कानुन ल्याउनुपर्ने अवस्था छ । अर्को अभिलेखीकरण गर्नुपर्नेछ । अभिलेखीकरणका लागि ऐनमै राख्न खोजिरहेका छौँ।’
उनका अनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत केन्द्रीय अभिलेखमा डोनर, भ्रुणको प्रयोग तथा नष्ट गरिएको विवरण राख्ने व्यवस्था गर्नुपर्नेछ । डोनरसम्बन्धी उमेर, मापदण्ड र आर्थिक कारोबारलाई पनि कानुनमार्फत स्पष्ट गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘डोनर राख्दा उमेर कति राख्ने, म्यारिडलाई राख्ने कि अनम्यारिड महिलालाई राख्ने भन्ने कुराहरू कानुनमा अथवा कार्यविधिमा लेख्नुपर्छ।’ अधिकारीका अनुसार प्रसूति गृहमा अहिले आईभीएफ सेवाको औसत लागत करिब दुई लाख रुपैयाँको हाराहारीमा रहेको छ । आईभीएफ सेवामा लाग्ने खर्चलाई स्वास्थ्य बीमामा समेट्नुपर्ने उनको भनाइ छ ।
दक्ष जनशक्ति उत्पादनमा चुनौती
उनले आईभीएफ सेवा सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताए। नेपालमा इम्ब्रायोलोजीसम्बन्धी पर्याप्त तालिम तथा कोर्सको अभाव रहेको उनले बताए।
उनले भने, ‘आईभीएफ सेवामा हाइली स्किल्ड जनशक्ति चाहिन्छ । ल्याबमा बस्ने इम्ब्रायोलोजिस्ट चाहिन्छ । इम्ब्रायोलोजीमा त नेपालमा कोर्स नै छैन, पढाउने पढाउँदैनन्। इन्डिया जानुप-यो पढ्नलाई, नभए अन्य देश जानुपर्ने अवस्था छ ।’
पुरानो संरचना र पार्किङ मुख्य समस्या
अस्पतालमा पार्किङ तथा पुरानो भौतिक संरचना मुख्य समस्या रहेको अधिकारीले बताए। उनले भने, ‘अहिले पार्किङको समस्या छ । भौतिक संरचनाहरू पुराना भएका छन्। ओपीडीमा पनि बस्ने ठाउँहरू एकदम सानो छ, थोरै एरिया छ।’
आगामी वर्ष प्रसूति सेवाका लागि नयाँ भवन निर्माण गर्ने पहल भइरहेको उनले बताए।
त्यस्तै, पार्किङ व्यवस्थापनका लागि स्वास्थ्य तथा भौतिक पूर्वाधारसम्बन्धी मन्त्रालयसँग छलफल भइरहेको उनको भनाइ छ।
ओएनएम गर्नुपर्ने माग
अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तत्काल गर्नुपर्ने अधिकारीले बताए।
उनले भने, ‘प्रसूति गृहलाई एउटा गर्नैपर्ने काम भनेको ओएनएम हो । सरकारले ओएनएम चाँडो गरिदिनुपर्नेछ। किनभने ओएनएम नभइकन यहाँ स्थायी दरबन्दी खुलाउन सकिदैन् । नेपाल सरकारको ६८ जना मात्रै छन् । अरु सबै ५६० जनासमितिकै दरबन्दी छ ।’
करार कर्मचारीमा बढी निर्भर हुनुपर्दा अनुभवी जनशक्ति बाहिरिने र नयाँ जनशक्ति आउने अवस्था रहेको उनले बताए।
कुपण्डोल सेवा विस्तार गरिने
अस्पतालले कुपण्डोलमा सञ्चालन गर्दै आएको सेवा आगामी वर्ष थप विस्तार गर्ने योजना बनाएको अधिकारीले बताए। कुपण्डोलमा ल्याब सेवा विस्तार गर्ने योजना समेत रहेको उनले बताए।
उनले भने, ‘कुपण्डोलमा आईभीएफ, गर्भपतन सेवा, फेमिली प्लानिङ र गाइनो ओपीडी सुरु गरिसकेका छौँ। अब गर्भवती ओपीडी पनि त्यहाँ सुरु गरेर त्यसलाई अझै बढाउन लागिरहेका छौँ । अब त्यहीँ पनि ल्याब सेवा सुरु गर्ने गरेर अब आउने वर्ष प्लान गरेका छौँ ।’
प्रकाशित समय : १२:०२ बजे


















