गृहपृष्ठ निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार
महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।
यहाँको बेदकोट नगरपालिका-२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतीपछि काम अघि बढ्दै छ ।
औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत अल्झनले ढिलाइ हुँदै आएको थियो । हालै मन्त्रिपरिषद् बैठकले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय हो । दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका मन्त्रिपरिषद्बाट वन क्षेत्र प्रयोग गर्न स्वीकृति मिलेसँगै औद्योगिक क्षेत्र स्थापनाले गति पाउने जानकारी दिए ।
“गत वर्षको साउनमा फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय पुगेको थियो”, उनले भने, “अब रुख कटान र भोगाधिकारको समस्या रहेन ।” उनका अनुसार १३६ दशमलव ५९ हेक्टर (२०२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको छ । यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।
विसं २०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको थियो । विसं २०७९ फागुनमा बेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्रको कार्यालयसमेत स्थापना भएको छ । तर कर्मचारीविहीन अवस्थामा छ ।
यो वर्ष छेला औद्योगिक क्षेत्र बाहिरको पहुँच मार्गका लागि भन्दै दुई करोड ५० लाख विनियोजन भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले गत वर्ष साउनमा रायसहितको उक्त फाइल वन मन्त्रालयमा पेस गरेको भए पनि प्रक्रियागत अल्झनले औद्योगिक क्षेत्र स्थापनामा झन ढिलाइ भइरहेको थियो ।
यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले निजी क्षेत्रले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको मागसहित दबाब दिँदै आएको बताए । “सबै प्रक्रिया पूरा भएर अब स्थलगत काम गर्ने वातावरण बन्नु सुखद विषय हो । अब निर्माणलाई तीव्रता दिनुपर्छ”, उनले भने, “औद्यागिक क्षेत्र स्थापना भए यहाँ रोजरागीका साथै आर्थिक गतिविधि बढ्ने छ ।”
त्यसैगरी बेदकोट नगरपालिका-२ का वडाध्यक्ष नरेशबहादुर सिंहले वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्को निर्णय भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्माणका लागि थप कार्य अघि बढाएको बताए । “यसले समग्र सुदूरपश्चिमका नागरिकलाई रोजगारी सृजना गर्ने र उद्योगी व्यवसायीलाई उद्योग स्थापना र सञ्चालनमा सहज वातावरण बनाउनेछ”, उनले भने, “यहाँ लामो समयदेखि स्थानीय नागरिक रोजगारीको आशामा बसेका थिए । अब पूरा हुने देखिन्छ ।”

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु