गृहपृष्ठ रसुवा भोटेकोशी बाढी : प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना, मानसिक आघात कम गर्न कार्यवाहक प्रमुख डंगोलको पहल

रसुवा भोटेकोशी बाढी : प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना, मानसिक आघात कम गर्न कार्यवाहक प्रमुख डंगोलको पहल

रसुवा भोटेकोशी बाढी : प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना, मानसिक आघात कम गर्न कार्यवाहक प्रमुख डंगोलको पहल

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका १३२ जना बालबालिकाको विद्यालय शिक्षालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका ती बालबालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको हो ।

विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए । विपद्ले बालबालिकाको मनमा पुर्‍याएको गहिरो चोट कम गर्न र उनीहरूको आवश्यकता बुझ्न काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल स्वयं विद्यालय पुगेर विद्यार्थीलाई हौसला दिएकी छन् ।

प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हाम्रो बोली–वचन र व्यवहारले बालबालिकालाई थप चोट नपुगोस्। उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात भुल्न सघाउनु । अहिल्यै किताब र पाठ घोकाउनुभन्दा पनि उनीहरूभित्र रहेको त्रास हटाउन परामर्शमा ध्यान दिनु।’

विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारीहरूले विद्यालयमै पुगेर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरिरहेका छन् । विद्यालय आउनेमध्ये केही बालबालिकाले बाआमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमामध्ये एक जना मात्र जीवित छन् । परिवार भएका कतिपय बालबालिकाको पनि घर र बासस्थान पूर्ण रूपमा गुमेको छ ।

विद्यालय जाने यी विद्यार्थीहरूका लागि ‘कोशिस नेपाल’ले स्कुल झोला, पोसाक र मनोसामाजिक परामर्शको व्यवस्था गरिदिएको छ । यस्तै, आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन ‘एलआरआई स्कुल’ले यातायातको साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

विद्यालयमा दोस्रो दिन ६१ जना विद्यार्थी उपस्थित भएका छन् । गीतामाता स्कुलका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालय आउन मानसिक रूपमा तयार भएका विद्यार्थीहरू विस्तारै कक्षामा फर्किरहेका छन् ।

उनले भने, ‘गहिरो मानसिक तनावमा परेका बालबालिकालाई जबरजस्ती गरिएको छैन, परामर्श दिएर बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ र विद्यार्थीको उपस्थिति दैनिक बढ्दै छ ।’

महानगरको सम्पर्कमा रहेका १३२ जना बालबालिका प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा १२ सम्म अध्ययनरत छन् । जसमा सबैभन्दा धेरै कक्षा १ मा ४५ जना रहेका छन् । त्यस्तै, इसीडी र कक्षा १० मा २–२ जना, नर्सरी, युकेजी र कक्षा १२ मा १–१ जना छन् ।

यसैगरी कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेको महानगरको तथ्यांक छ ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु