गृहपृष्ठ निष्पक्ष अध्ययन गरी सुकुम्बासीलाई छिटो जग्गाधनी पुर्जा दिनुपर्छ : कांग्रेस नेता वड
निष्पक्ष अध्ययन गरी सुकुम्बासीलाई छिटो जग्गाधनी पुर्जा दिनुपर्छ : कांग्रेस नेता वड
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य निर्पबहादुर वडले सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानका लागि निष्पक्ष र वैज्ञानिक अध्ययन गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता वडले भूमिहीन नागरिकलाई केवल आश्वासनमा मात्र सीमित नराखी सम्मानपूर्वक सुरक्षित बसोबास र कानुनी स्वामित्वको अधिकार सुनिश्चित गरिनुपर्ने बताएका हुन्।
सम्बन्धित निकायले प्रत्येक परिवारको तीनपुस्ते विवरण, जग्गाको वास्तविक अवस्था, लामो समयदेखिको बसोबासका साथै पारिवारिक तथा आर्थिक पृष्ठभूमि लगायतका विषयमा निष्पक्ष अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
उनले वास्तविक अवस्थाका आधारमा तहगत वर्गीकरण गरी प्राथमिकताका आधारमा योग्य र वास्तविक भूमिहीन परिवारलाई छिटोभन्दा छिटो जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
यस प्रक्रियामा कुनै पनि किसिमको राजनीतिक पहुँच, व्यक्तिगत प्रभाव वा पक्षपातभन्दा माथि उठेर वास्तविक आवश्यकता, प्रमाण र न्यायलाई आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। ‘निष्पक्ष अध्ययन गरौँ, वास्तविक परिवार पहिचान गरौँ र योग्यलाई समयमै पुर्जा वितरण गरौँ,’ नेता वडले भनेका छन्।
प्रकाशित समय : १०:३१ बजे


















