गृहपृष्ठ बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ ।
बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा सहज रुपमा बीमा सेवा दिइने जनाएको छ । बोर्डले ती जिल्लामा स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी(को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो । क्यापिङ भन्नाले कुनै निश्चित सेवा तथा उपचारमा बीमाले दिने रकमको अधिकतम सीमा बुझिन्छ ।
बोर्डका अनुसार उक्त क्षेत्रमा बिमितको स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराइनेछ ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा पवनकुमार साहले स्वास्थ्य बीमा बोर्डको उक्त निर्णयसँगै रुसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने बताए ।
प्रकाशित समय : १७:३१ बजे


















