गृहपृष्ठ विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छः राष्ट्रपति पौडेल

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छः राष्ट्रपति पौडेल

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउका छन । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गरेका छन ।

भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौँ फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले हामी नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद क्षणमा आफू नागरिकहरूमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै यो दुःखको घडीमा आफू पनि सबैको साथमा रहेको बताए ।

“यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवं सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु । यो दुःखको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने, “हामीलाई थाहा छ कि विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो, त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइनस समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।”

राष्ट्रपति पौडेलले यतिबेलाको गहिरो पीडालाई कम गर्न सक्ने शब्दहरू आफूहरुसँग नभएको उल्लेख गर्दै भने, “परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ ।”

उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए। अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको तथा अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले नेपाली नागरिक तथा विदेशी नागरिक दुवैका हकमा उहाँहरूका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक भएको बताए । सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहेका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहनुभएका हरेक विदेशी नागरिकहरू, जसले यस विपत्तिमा परी ज्यान गुमाउनुभएको छ, उहाँहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना प्रियजन गुमाएका सम्पूर्ण परिवारहरूप्रति नेपालका तर्फबाट हार्दिक समवेदना व्यक्त गरे । नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्दछ भन्दै उनले प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने उनको भनाइ थियो ।

“म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने । साथै उनले भगवान्ले हामी सबैलाई यस अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्रदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु