गृहपृष्ठ भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा मात्रै रु चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ ।
विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठ वटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ ।
बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए ।
विशेष गरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
त्यस्तै, एक एचपी क्षमताका सातवटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चार वटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।
बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ । सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१।१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ ।
विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ ।
बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनः स्थापनाको कामलाई समेत अघि बढाइएको विभागले जनाएको छ । क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनः स्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
प्रकाशित समय : ०५:५६ बजे

















