गृहपृष्ठ सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार
बागलुङ । भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन् । कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन् ।
बाढीमा परेर सम्पर्कविहीन भएका १६ जनामध्ये अधिकांश परिवारिक आर्थिक अवस्था कमजोर छ । रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका दुई जना इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।
तमानखोला गाउँपालिका-३ का वडाध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा बेपत्ता भएका वडाका ५० वर्षीय दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथि परिवार पूर्ण रूपमा आश्रित थियो । दलप्रसादका नौ वर्षीय एक छोरा, एक छोरी र श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइबहिनी उनिहरूमाथि आश्रित थिए । अहिले उनिहरूका परिवार बाटो कुरेर बसिरहेका वडाध्यक्षले बताए ।
वडाध्यक्ष बुढा दलप्रसाद र सञ्जयको उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा छन । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासहित आफ्ना नागरिकको उद्धारका लागि रसुवा पुगेका वडाध्यक्ष झकबहादुरले आठौँँ दिनसम्म पनि खोजी जारी रहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताए ।
“आफन्त हराएकाले बाटो हेरिरहनुभएको छ, बाढीमा हराएकाहरू सकुशल भेटिने आशा अझै छ”, वडाध्यक्ष झकबहादुरले भने, “बाढीपछि बेत्तिा भएकाहरूका परिवार सम्झेर झनै चिन्तित हुन्छौँ । सबैको आर्थिक अवस्था कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुग्नुभएको थियो । बिहान-बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ ।”
बागलुङ नगरपालिका-९ तित्याङ्को एकै परिवारका चार जना बाढीमा बेपत्ता हुँदा परिवार शोकमा डुबेको छ । इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उनका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुई छोराछोरी चार वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता छन ।
प्रकाशित समय : १६:५४ बजे


















