गृहपृष्ठ हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हिमालयन राइडर्स
हेटौँडालाई साइकलको सहर बनाउने अभियानमा हिमालयन राइडर्स
बागमती । हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले बागमती प्रदेशको राजधानी हेटौँडालाई साइकलको सहर (साइकल सिटी) का रूपमा विकास गर्ने लक्ष्य अनुरुप अभियान अघि बढाएको छ ।
विसं २०७८ देखि संस्थागत रूपमा स्थापना भएसँगै संस्थाकै पहल एवम् सरोकारवाला निकायसँगको सहकार्यमा हेटौँडाको बुद्ध चोकबाट चारैतर्फको करिब एक/एक किलोमिटर दूरीमा साइकल ‘लेन’ बनिसकेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए ।
उनका अनुुसार बुद्धचोकबाट कान्ति लोकपथ, कर्रा जाने मार्ग, चौकी टोल जाने मार्ग र राप्ती रोड जाने मार्गमा साइकल लेन बनिसकेको छ । आफूहरूले हेटौँडालाई साइकल सिटीका रूपमा विकास गर्नुपर्छ भन्ने लक्ष्यका साथ अभियानकै रूपमा पहल गरिररहेको बताए ।
“यहाँ बन्ने सडक साइकल लेनसहितका हुनुपर्छ भन्ने तर्फ हामी सम्बद्ध निकायसँग पहल बढाएका छौँ,” उनले भने, “साइकल लेन सहरको सौन्दर्यीकरणसँगै साइक्लिङको आकर्षण अभिवृद्धिका लागि अपरिहार्य छ ।”
स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै हेटौँडासहित देशका विभिन्न गन्तव्यको प्रवद्र्धन गरिरहेको संस्थामा हाल १० देखि ७३ वर्ष उमेर समूहसम्मका साइकलयात्री गरी १६० जनाभन्दा बढी व्यक्ति साधारण एवम् आजीवन सदस्यका रूपमा आबद्ध रहेका छन ।
उनका अनुसार पर्यावरणको रक्षाका लागि संस्थाकै पहलमा हेटौँडा र आसपासका विभिन्न गन्तव्यमा वृक्षरोपण गरिँदै आइएको छ । संस्थाले समाजिक उत्तरदायित्वअन्तर्गत समयसमयमा रक्तदान, आँखादान, निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
प्रकाशित समय : १५:४२ बजे


















