गृहपृष्ठ भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ
भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ‘ब्रिफिङ’ गरेका छन । परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैङ्क र एसियाली विकास बैङ्क एवं संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।
मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तरराष्ट्रिय सहयोगबारे जानकारी दिए । उनले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताए । मन्त्री खनालले भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमा नै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको बताए।
“यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,” उनले भने । उनका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो । यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा समुदाय तथा भौतिक पूर्वाधारमा गम्भीर असर परेको उनले जानकारी दिए । उनका अनुसार सरकारले विपद्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको छ । मन्त्री खनालले यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोग पनि लिइरहेको बताए ।
हालसम्मको स्मृतिमा यस्तो प्रकृतिको विपद्को अनुभव नभएको उल्लेख गर्दै मन्त्री खनालले भोटेकोशी बाढी सामान्य बाढी नभएको स्पष्ट पारे । सरकारले विपद् भएको पहिलो दिनदेखि नै खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाएको मन्त्री खनालले बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषद्का आकस्मिक बैठक तत्काल बोलाएर उपलब्ध राष्ट्रिय स्रोतसाधन परिचालन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगै सङ्घ, प्रदेश तथा स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, आपत्कालीन उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय निरन्तर उद्धार तथा राहत कार्यमा खटिएका छन् । खोज, उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । परराष्ट्रमन्त्री खनालले विदेशी नागरिकको सुरक्षा र कल्याण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे। उनका अनुसार परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको छ ।
परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगहरूले बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचान प्रक्रियामा सहजीकरण गर्ने तथा आवश्यक परेको अवस्थामा स्वदेश फिर्तीको व्यवस्था गर्न सहयोग गरिरहेको उनले बताए । कूटनीतिक नियोगका प्रतिनिधिहरूले आफ्ना नागरिक बेपत्ता भएको विवरण उपलब्ध गराएकामा धन्यवाद व्यक्त गर्दै मन्त्री खनालले त्यस्ता सूचनाले खोजी, प्रमाणीकरण तथा पहिचान प्रक्रियामा महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले विपद्को व्यापकता र जटिलतालाई ध्यानमा राख्दै नेपालले अन्तरराष्ट्रिय समुदायको ऐक्यबद्धता र सहयोगलाई महत्वपूर्ण रूपमा लिएको बताए ।
प्रकाशित समय : १५:२६ बजे


















