गृहपृष्ठ भाइको प्रतीक्षामा रामकुमार
भाइको प्रतीक्षामा रामकुमार
सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिए ।
उनका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्यत् आयोजनामा कार्यरत थिए । माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित ओभरसियर पदमा कार्यरत थिए ।
“घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झानाले सताइरहेको छ”, रामकुमारले भने । “भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा हामी छौँ”, उनले भने ।
उनिहरूकी ७० वर्षीया आमा छिनछिनमा छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु भन्दै बेलाबेलामा मुर्छित छन । स्थानीय विनोद साहले बताए । आमा र सम्पर्कविहीन भएका दाजुभाइका पत्नीहरूको अवस्था पनि दु: खद् छ । कतिबेला श्रीमान् भेटिएला र खबर आउँला भन्ने पर्खाइमा उनिहरू कुरिरहेका छन ।
माइलो, शिवकुमारको विवाह भएको पाँच वर्ष भयो । उनिका दुई सन्तानसमेत छन् । साइँलो छोरा देवकुमारको यही वैशाखमा विवाह भएको हो । कान्छो सचित भने अविवाहित थिए । तीनवटै छोराहरू रसुवामा काम गर्न थालेपछि सुखी थियो यादव परिवार ।
शिवकुमारको पत्नीसँग बाढी आएको दिन बिहान भलाकुसारी भएको थियोे । बाढी आउने कुनै अत्तोपत्तो थिएन । एक्कासी सम्पर्कविहीन भएको उनकी पत्नीले बताए ।
बुबा लालबहादुर भने छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन बित्यो । छोराहरूसँग कतै सम्पर्क हुन सकेन । लालबहादुरले भने ।
उनिहरूको जस्तै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको पीडा उस्तै छ । अजय पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन छन । उनि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत शिक्षक थिए ।
बाढीका कारण बोदेबरसाइन नगरपालिका आसपासका झन्डै ४८ व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूको परिवार पीडामा छ । सुरूङ, टनेलमा फसेकाको तत्काल उद्धार गर्न पीडितपरिवारले सरकारसँग माग गरेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयको मङ्गलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् भने १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा र एक जनाको मृत्यु भएको छ ।
रसुवा भोटेकोशी नदीमा आएर भएको बाढीले जनधनको क्षति र एक जनाको मृत्यु र ४८ जना सम्पर्कविहीन भएपछि सिङ्गो सप्तरी यतिबेला शोकमा डुबेको छ ।
प्रकाशित समय : १२:०६ बजे


















