गृहपृष्ठ सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

चैनपुर । गाउँका दुःखबाट छुटकारा पाउन सहर पस्नुलाई सफलता ठान्ने समाजमा जयबहादुर बोहरा फरक यात्रामा छन्। धेरैको सपना सहरमा घर जोड्ने हुन्छ, तर ६२ वर्षीय बोहराले भने धनगढी र चैनपुरमा रहेका आफ्ना दुई घर बेचेर गाउँको बाँझो जमिनमा भविष्य खोज्ने साहस गरे।

सुर्मा गाउँपालिका–२ सिमस्याइलका बोहरा अहिले बझाङको उच्च लेकाली क्षेत्रमा फलफूल, तरकारी र विभिन्न प्रजातिका रूख रोपेर व्यावसायिक कृषिमा जुटिरहेका छन्।

समुद्री सतहबाट करिब दुई हजार ४२० मिटर उचाइमा रहेको सिमस्याइल लेकमा गोठालाबाहेक अरू मानिसको आवतजावतसमेत कम हुने गरेको थियो। आज त्यही क्षेत्रमा जयबहादुरले व्यावसायिक कृषि विस्तार गरिरहेका छन्।

उनले जीविकोपार्जनका लागि मात्र होइन, दीर्घकालीन योजना बनाएर व्यावसायिक कृषिमा लगानी गरेका हुन्। माटो परीक्षणदेखि फलफूलका उपयुक्त प्रजाति छनोटसम्म योजनाबद्ध रूपमा काम अघि बढाएका उनले अहिले आफ्नो कृषि क्षेत्रलाई विस्तार गर्दै लगेका छन्।

हिमाचलबाट जन्मिएको आफ्नै माटोमा लगानी गर्ने सपना

जयबहादुरको कृषि यात्राको जरो भारतको हिमाचल प्रदेशसँग जोडिएको छ। बाल्यकालदेखि नै जीवनको लामो समय उनले हिमाचलका फलफूल बगैँचामा बिताए। विदेशी साहुका बगैँचामा बोटबिरुवा गोडमेल गर्ने, मल हाल्ने र स्याउ टिप्ने काम गर्दागर्दै उनको जीवनका करिब पाँच दशक बिते।

तर, अरूको बगैँचामा काम गर्दै गर्दा उनको मनमा एउटा प्रश्न बारम्बार उठिरहन्थ्यो—हिमाचलजस्तै हावापानी र उचाइ भएको आफ्नै सिमस्याइलमा किन व्यावसायिक फलफूल खेती नगर्ने? त्यही सोचले पछि उनको जीवनको दिशा नै बदलिदियो।

“हिमाचलको जस्तै हावापानी र उचाइ भएको सिमस्याइलमा किन लगानी नगर्ने भन्ने सोचले मूर्तरूप लियो,” उनी सम्झन्छन्।

हिमाचलमा कमाएको पैसाले उनले धनगढीको फूलबारीमा जग्गा किनेर घर बनाए। केही वर्षपछि ऋण निकालेर बझाङको चैनपुरमा पनि पक्की घर निर्माण गरे। विदेशमै बस्दै ऋणसमेत तिरे।

आर्थिक रूपमा सहज अवस्थामा पुगेपछि पनि उनलाई सहरका कङ्क्रिटका घरले बाँध्न सकेनन्।

अन्ततः उनले कठोर निर्णय गरे—सहरका घर बेच्ने र आफ्नै गाउँको माटोमा लगानी गर्ने।

‘बौलायो’ भन्नेहरूका बीच गाउँ फर्किने निर्णय

गाउँ फर्केर व्यावसायिक कृषि गर्ने जयबहादुरको निर्णयलाई सुरुमा धेरैले अस्वाभाविक ठाने।

कसैले उनको निर्णयलाई ‘उल्टो बुद्धि’ भने, कसैले उनलाई बौलाएको टिप्पणीसमेत गरे। सहयोग गर्नेभन्दा अवरोध गर्नेहरू धेरै भेटिए। तर जयबहादुर आफ्नो योजनाबाट पछि हटेनन्।

उनले धनगढीको घर ३२ लाख रुपैयाँमा र चैनपुरको घर ७० लाख रुपैयाँमा बेचेर गाउँ फर्किने निर्णय गरे। त्यसपछि उनी सिधै सिमस्याइलको लेकमा पुगे।

त्यहाँ उनको पुर्ख्यौली जमिन त थियो, तर व्यावसायिक कृषि विस्तारका लागि पर्याप्त थिएन। त्यसपछि उनले वरपरका बाँझो र जङ्गलजस्तै बनेका जग्गा किन्न थाले।

उनको ठूलो कृषि योजना थाहा पाएपछि कतिपय जग्गाधनीले जमिनको मूल्य बढाए। तर दीर्घकालीन योजनासहित गाउँ फर्किएका जयबहादुर पछि हटेनन्।

“मेरो योजना दीर्घकालीन थियो। त्यसैले मूल्य बढे पनि मैले हार खाइनँ,” उनी भन्छन्, “खेतीयोग्य जमिन थप्न र आफ्नो स्वामित्वमा ल्याउन झन्डै २५ लाख रुपैयाँ खर्च गर्नुपर्‍यो।”

यसरी उनले करिब १५ हजार वर्गमिटर अर्थात् झन्डै ३० रोपनी जमिन जोड्न सफल भए।

एक सय बाख्राबाट सुरु भएको कृषि यात्रा

फलफूल खेतीअघि जयबहादुरले व्यावसायिक बाख्रापालन सुरु गरेका थिए। उनले एक सय वटा बाख्राबाट व्यवसाय सुरु गरे। तीन वर्षभित्र बाख्राको संख्या बढेर ३५० पुग्यो।

‘सिमस्याइल भेडाबाख्रा फर्म’बाट उत्पादन भएका खसीबोका स्थानीय बजारमा बिक्री हुन थाले। यही व्यवसायले उनको व्यावसायिक कृषि यात्राको जग बसायो।

पछि उनले भेडाबाख्रा व्यवसाय एकैपटक बिक्री गरेर नयाँ क्षेत्रमा लगानी गर्ने निर्णय गरे—तरकारी र फलफूल खेती।

हिमाचलबाट सिमस्याइलसम्म स्याउ

गाउँमै स्याउखेती विस्तार गर्ने योजना बनाएपछि जयबहादुर आफूले लामो समय काम गरेको हिमाचलकै बगैँचामा पुगे। पूर्वकामदार अहिले आफैं उद्यमी बनेर आफ्नो गाउँमा स्याउखेती गर्न लागेको थाहा पाएपछि त्यहाँका मालिकसमेत खुसी भए।

सुरुमा उनले दुई लाख ५० हजार रुपैयाँमा २५० वटा स्याउका बिरुवा ल्याए। त्यसपछि तीन लाख रुपैयाँ खर्च गरेर थप ३०० वटा उन्नत जातका बिरुवा ल्याए।

मंसिरको चिसो मौसममै सिमस्याइल लेकमा ठूला खाल्डा तयार पारियो। फागुन लागेपछि ५५० वटा स्याउका बिरुवा रोपियो। मेहनतको परिणाम तीन वर्षमै देखिन थाल्यो।अहिले जयबहादुरको बगैँचामा स्याउका बोटको संख्या बढेर करिब ८०० पुगेको छ।

स्याउका बोटसँगै उनको भविष्यप्रतिको विश्वास पनि हुर्किरहेको छ।

किबीबाट दुई वर्षमै तीन लाख आम्दानी

फलफूलमा विविधता ल्याउन उनले काठमाडौंबाट ‘हेवार्ड’ जातको उन्नत किबीका बिरुवा ल्याए।

तीन वर्षअघि माघमा ल्याएका बिरुवा फागुनमा रोपिएका थिए। रोपेको दुई वर्षमै किबीले फल दिन थाल्यो। पहिलो उत्पादनबाटै करिब तीन लाख रुपैयाँ आम्दानी भएको उनले बताए।

गत वर्षदेखि किबीका बोटमा प्रशस्त फल लाग्न थालेको छ।जयबहादुरले हालै २०० वटा दाँते ओखरका बिरुवा पनि रोपेका छन्। ती बिरुवा स्वस्थ रूपमा हुर्किरहेका छन्।

“आउँदो वर्षदेखि फल दिन सुरु हुन्छ भन्ने आशा गरेको छु,” उनले भने।

उनको बगैँचामा हलुवाबेद, अमिलो जातका फलफूल, मौसमी, कागती र इमिलासहित विभिन्न प्रजातिका फलफूल पनि उत्पादन भइरहेका छन्।

तत्कालको नाफा होइन, पुस्ताका लागि प्राकृतिक सम्पत्ति

जयबहादुरको उद्देश्य तत्काल धेरै नाफा कमाउनु मात्र होइन। उनी आफ्नो जीवनपछि पनि गाउँ र भावी पुस्ताका लागि केही प्राकृतिक सम्पत्ति छोडेर जान चाहन्छन्।

“मर्न त सबै मर्छन्। तर बाँचुन्जेल केही गरेर जाऊँ। पछिल्लो पुस्ताले पनि सम्झिने गरी केही फरक गरेर जाऊँ भन्ने सोचले लागिरहेको छु,” उनी मुस्कुराउँदै भन्छन्।

त्यसैका लागि उनले आफ्नो बगैँचाको छेउछाउमा बहुमूल्य राइसल्लो र देवदारका बिरुवा रोपेका छन्।

दार्चुलाबाट २७० वटा राइसल्लो र भारतको हिमाचलबाट १७० वटा देवदारका बिरुवा ल्याएर रोपिएको छ।

यी रूख बहुमूल्य काठ तथा सुगन्धित तेल उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छन्।

“यो काठ र तेल मेरा लागि मात्र होइन, भोलि आउने पुस्ता र गाउँको पर्यावरणका लागि पनि ठूलो सम्पत्ति हुने विश्वास छ,” उनी भन्छन्।

सरकारी सहयोग र सोलारबाट चल्ने रस्टिक स्टोर

जयबहादुरको काम देखेर सरकारी निकायको पनि ध्यान तानिएको छ।

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको आलु जोनले उनको कृषि अभियानमा विभिन्न रूपमा सहयोग गरेका छन्।

हालसम्म उनले करिब १० लाख रुपैयाँ बराबरको अनुदान सहयोग पाइसकेका छन्।

अनुदानमार्फत सिमीको बीउ, किबीका बिरुवा, तरकारी खेतीका लागि आवश्यक थाग्रा, आधुनिक घेरबार र उन्नत जातका फलफूलका बिरुवा प्राप्त भएका छन्।

कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनकबहादुर सिंह जयबहादुरलाई जिल्लाकै प्रेरणादायी कृषकका रूपमा लिन्छन्।

“अनुदानमुखी कृषक हुने ठाउँमा उहाँजस्तो नमुना कृषक बझाङले पाउनु गौरवको विषय हो,” सिंह भन्छन्, “उहाँजस्तै कृषिमा लगाव भएका अन्य कृषक भए कृषि क्षेत्रको मुहार नै फेरिन्थ्यो।”

जयबहादुरले अहिले करिब १५ लाख रुपैयाँ लगानीमा सिमस्याइलमै अत्याधुनिक ‘रस्टिक स्टोर’ निर्माण गरिरहेका छन्। यो सौर्य ऊर्जा अर्थात् सोलारबाट सञ्चालन हुनेछ।

स्याउ, किबी, आलु र ओखरजस्ता उत्पादन लामो समयसम्म ताजा राख्न र बेसिजनमा समेत बजारमा बिक्री गर्न सकिने अपेक्षा उनको छ।

तर रस्टिक स्टोर निर्माणको क्रममा उनले अनुदानसम्बन्धी अर्को अनुभव पनि भोगेका छन्।

“अहिले तत्कालै रस्टिक स्टोर बनाउने सोच थिएन। आलु जोनबाट अनुदान दिने आश्वासन पाएपछि निर्माणको तयारी गरेँ। पछि जोनले अर्कैलाई अनुदान दिएछ,” उनले भने।

उत्पादन राम्रो, बजारसम्म पुर्‍याउन महँगो

सिमस्याइलको लेकमा जयबहादुरको कृषि फाँट जति लोभलाग्दो देखिन्छ, त्यहाँको संघर्ष भने उत्तिकै कठिन छ।

सुर्मा गाउँपालिकाका अधिकांश गाउँमा सडक पुगे पनि जयबहादुरको कृषि क्षेत्र अझै सडक सञ्जालबाट पूर्ण रूपमा जोडिन सकेको छैन।

वडा नम्बर २ को डोगडीसम्म सवारीसाधन पुग्छ। तर त्यहाँबाट सिमस्याइलस्थित उनको फर्म पुग्न करिब दुई घण्टा उकालो र घना जङ्गलको बाटो हिँड्नुपर्छ।

सिमेन्ट, बालुवा, इँटा, फलामे डन्डी र सोलार प्यानलजस्ता निर्माण सामग्री फर्मसम्म पुर्‍याउन ठूलो खर्च लाग्छ।

उत्पादन भएका सयौँ किलो फलफूल र तरकारी बजारसम्म पुर्‍याउन पनि कामदारलाई महँगो ज्याला दिनुपर्ने बाध्यता छ।

“यो माटोले मलाई कहिल्यै निराश बनाएको छैन। जे रोपे पनि सुनजस्तै फल्छ,” जयबहादुर भन्छन्, “तर बजार पाउन निकै गाह्रो छ। बजार पाइहाले पनि सडकसम्म पुर्‍याउँदा ज्यालामै आधाभन्दा बढी खर्च हुन्छ।”

सहरका दुई घर बेचेर गाउँको बाँझो लेकमा कृषि सम्भावना खोजेका जयबहादुरको कथा अहिले एउटा कृषकको व्यक्तिगत सफलता मात्र होइन।

यो कथा गाउँमै सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण पनि हो।

सडक, बजार र ढुवानीको समस्या समाधान हुन सके सिमस्याइलको लेकमा जयबहादुरले रोपेका स्याउ, किबी र ओखरका बोटसँगै बझाङको उच्च हिमाली क्षेत्रमा व्यावसायिक कृषिको नयाँ सम्भावना पनि अझै फस्टाउने देखिन्छ।

प्रकाशित समय : ०६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु