गृहपृष्ठ पटकपटक म्याद थपिँदा पनि अधुरै खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक

पटकपटक म्याद थपिँदा पनि अधुरै खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक

पटकपटक म्याद थपिँदा पनि अधुरै खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक

लमजुङ । पटकपटक म्याद थपिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अझै अधुरै रहेको छ। निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका छन्।

सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव ८ किलोमिटर सडक स्तरोन्नति आयोजना हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।

वर्षायाममा सडक हिलाम्मे हुने र कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ। सडकको दयनीय अवस्थाका कारण बिरामीलाई अस्पताल पुर्‍याउनसमेत समस्या हुने गरेको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन श्रेष्ठले बताए।

“सडकमा हिँडडुल गर्नसमेत कठिन छ। बिरामी पर्दा एम्बुलेन्स लैजान नसक्ने अवस्था छ,” उनले भने, “पटकपटक सम्बन्धित निकायमा दबाब दिँदा पनि कामले गति लिन सकेको छैन।”

निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले गत असारमा सडकमै धान रोपेर विरोधसमेत गरेका थिए। उनीहरूले सडक निर्माणलाई तत्काल तीव्रता दिन माग गर्दै आएका छन्।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख शोभियत खड्काका अनुसार निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारीसमेत गरिएको थियो। ठेक्का तोड्ने पत्र तयार हुने अवस्थामा पुगेपछि निर्माण कम्पनीले सम्झौता रद्द भए आफूलाई गम्भीर असर पर्ने भन्दै कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको उनले बताए।

“निर्माण व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छौँ,” खड्काले भने।

यो सडक स्तरोन्नतिका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीसँग विसं २०७८ असोज २२ गते २८ करोड रुपैयाँमा सम्झौता भएको थियो। सम्झौताअनुसार काम विसं २०८० असार २१ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलोपटक म्याद थप गरी २०८१ असार २१ गतेसम्म समय दिइएको थियो। त्यस अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी २०८३ असार २० गतेसम्म काम सक्ने समय निर्धारण गरिएको थियो।

तर पछिल्लो पटक थपिएको म्यादसमेत सकिँदा सडक निर्माण अझै अधुरै छ।

पूर्वाधार विकास कार्यालयका अनुसार आयोजनाको हालसम्म ४३ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको छ। सडक कटिङ तथा चौडा गर्ने, पाइप राख्ने, ग्याभिन जाली र नाला निर्माणलगायतका काम भए पनि कालोपत्रका लागि आवश्यक बेस तयार भइसकेको छैन।

निर्माण कार्यका परामर्शदाता राजेश अधिकारीका अनुसार गत असारयता निर्माणको गति लगभग रोकिएको छ। निर्माण कम्पनीसँग दुईपटक बैठक बसेर माइन्युट गरिएको र एकपटक मौखिक रूपमा समेत कामलाई तीव्रता दिन आग्रह गरिएको उनले बताए।

“सहमति गर्ने तर त्यसअनुसार काम अघि नबढाउने अवस्था पटकपटक दोहोरिएको छ,” उनले भने, “काम गरे पनि सुस्त गतिका कारण आयोजना ढिलाइ भएको छ।”

निर्माण कम्पनीले फेरि म्याद थपका लागि निवेदन दिएको पनि अधिकारीले जानकारी दिए। कम्पनीले २०८४ असारसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप माग गरेको छ। तर नयाँ म्याद भने अझै स्वीकृत भइसकेको छैन।

निर्माण कम्पनीले पर्याप्त लगानी गर्न नसक्दा कामदार र निर्माण सामग्री व्यवस्थापनमा समस्या भएको छ।

कार्यालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई ११ करोड ८७ लाख २२ हजार ५६४ रुपैयाँ भुक्तानी भइसकेको छ। गत आर्थिक वर्षमा करिब ८६ लाख ७३ हजार रुपैयाँ बराबरको काम भएको थियो भने त्यसअघिको आर्थिक वर्षमा करिब एक करोड छ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको परामर्शदाता अधिकारीले बताए।

आयोजनाअन्तर्गत सडकको करिब तीन किलोमिटर खण्डमा आरसिसी ढलान गर्ने योजना रहेको छ। तर पटकपटक म्याद थपिँदा पनि निर्माणले अपेक्षित गति लिन नसक्दा स्थानीयवासी भने कहिले सडक निर्माण सम्पन्न हुन्छ भन्ने अन्योलमै छन्।

प्रकाशित समय : ०६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु