गृहपृष्ठ पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा
पदमा फर्किएको एक दिनमै मेक्सिकन गभर्नर पुनः बिदामा
अमेरिकामा लागुऔषध तस्करीसम्बन्धी आरोपमा खोजीमा रहेका मेक्सिकोको सिनालोआ राज्यका गभर्नर रुबेन रोचा मोया पदमा फर्किएको एक दिनमै पुनः बिदामा बस्ने घोषणा गरेका छन ।
रोचाले शनिबार राज्य काङ्ग्रेसलाई ३० दिनभन्दा बढी अवधिका लागि अनिश्चितकालीन अस्थायी बिदा स्वीकृत गर्न आग्रह गर्दै सामाजिक सञ्जाल एक्समा पत्र सार्वजनिक गरेका हुन।
उनले शुक्रबार मात्रै सिनालोआको नेतृत्व पुनः सम्हालेको घोषणा गरेका थिए । मेक्सिकन अभियोजकहरूले अनुसन्धान अघि बढाएपछि उनले यसअघि मे महिनामा पदबाट अस्थायी रूपमा अलग भएका थिए ।
रोचाको पुनरागमनको घोषणाप्रति राष्ट्रपति क्लाउडिया शेनबाउमले शनिबार असन्तुष्टि जनाए । उनले कसैको पनि व्यक्तिगत स्वार्थलाई जनताको हितभन्दा माथि राख्न नहुने बताए ।
पत्रकारहरूले रोचाको विषयमा सोध्दा शेनबाउमले आफूले उनको सामाजिक सञ्जालको पोस्टबाट मात्रै पदमा फर्किएको जानकारी पाएको जानकारी दिए ।
अमेरिकी न्याय विभागले अप्रिलमा रोचासहित सत्तारूढ मोरेना पार्टीका नौ अधिकारीविरुद्ध अमेरिकामा लागुऔषध वितरण गर्न सिनालोआ कार्टेलसँग सहकार्य गरेको आरोप लगाउँदै उनीहरूलाई सुपुर्दगी गर्न माग गरेको थियो । अमेरिकाले बहालवाला मेक्सिकन राजनीतिज्ञविरुद्ध सार्वजनिक रूपमा आरोप लगाएको यो पहिलो घटना भएको बताइएको छ ।
रोचाले शुक्रबार आफूले कुनै अपराध नगरेको दाबी गर्दै स्पष्ट विवेकका साथ पदमा फर्किएको बताएका छन । ७७ वर्षीय रोचा राष्ट्रपति शेनबाउमको सत्तारूढ मोरेना पार्टीसँग आबद्ध छन र पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका निकट सहयोगी मानिन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध नियन्त्रणका लागि मेक्सिकोलाई थप कडा कदम चाल्न दबाब दिँदै आएका छन । उनले मेक्सिकोमा लागुऔषध तस्करीसँग सम्बन्धित राजनीतिज्ञको प्रभाव रहेको दाबी गर्दै सैन्य सहयोगको प्रस्तावसमेत गरेका छन । शेनबाउमले भने यस्तो हस्तक्षेप अस्वीकार गर्दै आएका छन ।
प्रकाशित समय : १४:०३ बजे


















