गृहपृष्ठ इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ । देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुगेको हो ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्नेछ । तीमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलगायतका लागि प्रयोग गरिनेछ ।

औषधि कम्पनी मर्कले विकास गरेको एर्भेबो खोप इबोला भाइरसको जायर स्ट्रेनविरुद्ध प्रयोगका लागि स्वीकृत भए पनि हाल डीआर कङ्गोमा फैलिएको बुन्डिबुग्यो स्ट्रेनविरुद्ध यसको प्रभावकारिता प्रमाणित भइसकेको छैन । यद्यपि प्रारम्भिक अध्ययनले यसले उक्त स्ट्रेनविरुद्ध केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ ।

डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि विशेषगरी सन् २०१८–२०२० को इबोला प्रकोपका क्रममा ठूलो मात्रामा प्रयोग गरिएको बताए ।
डीआर कङ्गोमा मे १५ मा इबोलाको १७औँ प्रकोप घोषणा गरिएको थियो । तर योभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिन थालेको अनुमान गरिएको छ । देशका उत्तर तथा पूर्वी क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

कङ्गोली अधिकारीका अनुसार हालसम्म पाँच हजार २९० पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार ५१६ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ ।
डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबोले सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने यकिन गर्न मानव परीक्षण गर्न सिफारिस गरेका छन् । उक्त स्ट्रेनलाई लक्षित गर्ने अन्य खोपहरू पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन् ।

पछिल्लो पाँच दशकमा इबोलाका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।र।सस

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु