गृहपृष्ठ नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक
नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमा ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोको दोस्रो दिन बुधबार २६ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । उद्घाटनको दिन मंगलबार २९ हजारभन्दा बढी अवलोकनकर्ता मेला पुगेका थिए ।
एक्स्पोमा विभिन्न ब्रान्डका कार, मोटरसाइकल तथा विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएका छन् । अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज र बिक्रीपछिको सेवाबारे चासो राखेका छन् ।
एक्स्पोमा सहभागी कम्पनीहरूले विभिन्न सवारीसाधनमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन् । कम्पनीका प्रतिनिधिका अनुसार एक्स्पोमा सवारीसाधनको बुकिङसमेत भइरहेको छ ।
एक्स्पोमा मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडल सार्वजनिक गरेका थिए भने बुधबार थप चार नयाँ मोडल सार्वजनिक गरिएको छ ।
बुधबार आयोजित ‘लर्निङ सेसन’ अन्तर्गत ‘मोबिलिटी ः हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापाले सहभागिता जनाउनुभएको थियो । पत्रकार टिकाराम यात्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
उक्त छलफलमा ३०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडिआई) : मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर विभिन्न विषयमा स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने जनाइएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डका साथै विभिन्न कम्पनीका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारी खरिदका लागि विभिन्न कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराएका छन् ।
एक्स्पो अवधिभर करिब एक लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित समय : २०:२५ बजे


















