वर–पीपल संरक्षणसँगै हिलेलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास
वि.सं.२०८३ साउन २७ बुधवार १५:३७
shares

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपल संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकासको प्रयास थालिएको छ । धार्मिक, सांस्कृतिक तथा वातावरणीय महत्व बोकेको वर–पीपलको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपण गरिएको हो ।
डिभिजन वन कार्यालय भोजपुरको करिब ७ लाख रुपैयाँ बजेटमा वर–पीपल रोपणसँगै चौतारा निर्माण गरिएको हो । कार्यालयका प्रमुख खुद्रुस मियाका अनुसार वर–पीपल संरक्षणमार्फत हिले क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ ।
‘वर–पीपल हाम्रो परम्परा र जैविक विविधतासँग जोडिएको महत्वपूर्ण सम्पदा हो,’ उनले भने, ‘यसको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपणलाई प्राथमिकता दिएका छौँ ।’
वडाध्यक्ष नभराज माङ्गफाहाङ्गका अनुसार हिलेमा वर–पीपल अध्ययन केन्द्र स्थापना गर्ने योजना छ । यस क्षेत्रलाई ‘ऋषि वन’का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको उनले बताए । उनका अनुसार यहाँ आठ प्रजातिका वरका बिरुवा रोपिएका छन् भने गुराँसलगायत स्थानीय प्रजातिका बिरुवासमेत रोप्ने काम भइरहेको छ ।
‘वर–पीपल शमी चौतारी निर्माण कार्यक्रम’अन्तर्गत चौतारा निर्माणसँगै वर–पीपल रोपण गरिएको हो । चौताराले स्थानीयवासीका लागि विश्रामस्थलको सुविधा थप्नुका साथै पर्यटक आकर्षित गर्ने आधारसमेत तयार गरेको स्थानीयको भनाइ छ ।
स्थानीय नन्दकुमार तिम्सिनाले पछिल्लो समय वर–पीपलका रुख मासिँदै गएको अवस्थामा संरक्षणसहितको यस्तो पहल सकारात्मक रहेको बताए । उनका अनुसार चौतारासहित वर–पीपल संरक्षणले गाउँको पहिचान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्नेछ ।
स्थानीय समुदायको सहभागितामा सञ्चालन भइरहेको कार्यक्रमले जैविक विविधता संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । वन क्षेत्रको दिगो उपयोगमार्फत स्थानीयका लागि आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसमेत रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वर–पीपल संरक्षणसँगै चौतारा निर्माण, हरियाली विस्तार र अध्ययन केन्द्र स्थापनाजस्ता गतिविधिले टेम्केमैयुङ क्षेत्रलाई दीर्घकालीन रूपमा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने स्थानीयको विश्वास छ ।
























