गृहपृष्ठ एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलनको तयारी
एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलनको तयारी
काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजमा कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको छ।
कलेजमा आगामी अक्टोबर ७ (असोज २१) मा आयोजना हुने ‘इन्टरनेसनल कन्फरेन्स अन आर्टिफिसियल इन्टेलिजेन्स इन कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ–२०२६’ (IC AICSE-26) को तयारीबारे छलफल गर्न सम्मेलन सल्लाहकार समितिको बैठक बसेको हो।
बैठकमा कृत्रिम बुद्धिमत्ता, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ, सफ्टवेयर, सूचना प्रविधि र इलेक्ट्रोनिक्स क्षेत्रका विज्ञ सहभागी थिए। त्रिभुवन, काठमाडौं र पोखरा विश्वविद्यालयका विषयविज्ञले सम्मेलनलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए।
एभरेस्ट इन्जिनियरिङ कलेजले हिस्ट इन्जिनियरिङ कलेजसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनलाई नेपाल इन्जिनियरिङ परिषद्ले कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) अन्तर्गत मान्यता दिएको छ। सम्मेलनमा शोधपत्र प्रस्तुत गर्नेले एक घण्टाको सीपीडी क्रेडिट पाउनेछन्।
आयोजकका अनुसार सम्मेलनका लागि हालसम्म ५० भन्दा बढी शोधसार प्राप्त भइसकेका छन्। भारत, नाइजेरिया, पाकिस्तान, सिंगापुर, दक्षिण कोरिया र अमेरिकालगायतका मुलुकबाट समेत शोधसार प्राप्त भएको छ।
सम्मेलनमा प्रस्तुत उत्कृष्ट शोधलेख डीओआईसहित कलेजको अर्धवार्षिक व्यावसायिक जर्नल ‘ईस्ट’ (EAST) मा प्रकाशित गरिने कलेजले जनाएको छ।
प्रकाशित समय : १७:२४ बजे


















