गृहपृष्ठ भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त
भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।
मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ । अस्पतालले आर्थिक वर्ष २०७४र७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।
यसबापत अस्पतालले हालसम्म रु तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रकम प्राप्त गरिसकेको पौडेलले जानकारी दिए । उहनका अनुसार अस्पतालको बिमा कार्यक्रममा २४सै घण्टा कर्मचारी बसेर दाबी भुक्तानीको काम गरिरहेका छन् । देशका अन्य अस्पतालहरूबाट समेत स्वास्थ्य बिमा कार्यक्रमको यहाँबाट भइरहेका कामको प्रकृति हेर्न र सिक्न आउने गर्दछन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाको भएका बताउनुभयो । तीसहित सबै बिरामीका लागि एकै दिनमा सेवा दिने गरी सहज व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले पालो कुर्नुपर्ने सेवाहरूमा समय कम गर्दै लगिएको जानकारी दिए।
नगद काउन्टर थप गरिएको, टिकटलाई अनलाइन गरिएको, शल्यक्रियाको पालो घटाउँदै लगिएको, टिकटको समय बढाइएको भन्दै उहाँले अन्य सेवालाई पनि क्रमशः सहज बनाइने बताए । देशभरका अस्पतालहरूमा भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजना नमूना कार्यक्रमका रूपमा लिने गरिएको उनको भनाइ छ ।
अस्पतालमा पछिल्लो समय बिरामीको उच्च चाप हुने गरेको छ । बहिरङ्ग (ओपिडी) सेवामा एकै दिन गत मङ्गलबार तीन हजार ७५१ जना बिरामी आएका थिए । जसमध्ये स्वास्थ्य बिमाका मात्रै दुई हजार ९४८ रहेका थिए । यहाँ चितवनसहित २२ जिल्लाबाट नियमित बिरामी आउने गरेका छन् । ठूलो सङ्ख्यामा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् ।
प्रकाशित समय : २०:४१ बजे


















