गृहपृष्ठ पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन
काठमाडौं । एमबिबिएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै हरिजनले आजदेखि जारी अनशन अन्त्य गरेका छन् ।
सहमतिअनुसार स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता एमबिबिएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसिप कार्यक्रमका विद्यार्थीलाई सबै सरकारी तथा निजी मेडिकल कलेजले समान रूपमा उपलब्ध गराउने विषयमा साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा सम्बन्धित पक्षबीच छलफल गरिनेछ । सो छलफलबाट भएको सहमतिलाई चिकित्सा शिक्षा आयोगको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गरिने सहमति भएको छ ।
उक्त विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको कार्यदलले वैशाख ३० गते पेश गरेको प्रतिवेदनमा इन्टर्न चिकित्सकको कार्यबोझ, रात्रीकालीन सेवा तथा न्यूनतम आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको आधा रकम निर्वाह भत्ताका रूपमा उपलब्ध गराउन सिफारिस गरेको थियो ।
त्यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ७ बमोजिम चिकित्सा शिक्षा आयोगको बैठकमा स्टाइपेन्ड अभियानका प्रतिनिधिलाई अनिवार्य रूपमा आमन्त्रण गर्ने विषयमा पनि साउन २८ गते छलफल गरिने भएको छ ।
सहमतिपत्रमा श्रम ऐन, २०७४ अनुसार आवासीय तथा इन्टर्न चिकित्सकको कार्यघण्टा सबै सरकारी तथा निजी मेडिकल कलेजमा समान रूपमा लागू गर्न समिति गठन गरी प्रतिवेदन तयार गर्ने र त्यसका आधारमा कार्यान्वयन अघि बढाउने उल्लेख गरिएको छ ।
यस्तै, मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा असुलेको अतिरिक्त शुल्क (एक्स्ट्रा फी) सम्बन्धमा छानबिन गरी फिर्ता गर्ने तथा सरकारले स्वीकृत गरेको शुल्क मात्र लिनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिने सहमति भएको छ ।
एमबिबिएस तथा बिडिएस अध्ययनरत विद्यार्थीलाई छात्रावासमा अनिवार्य रूपमा बस्नुपर्ने व्यवस्था हटाई छात्रावासलाई वैकल्पिक बनाउने चिकित्सा शिक्षा आयोगको पूर्वपरिपत्र प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन र आवश्यक छलफल गर्ने सहमति पनि भएको छ ।
सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा रहेको वार्ता टोलीले सहमतिपत्रमा हस्ताक्षर गरेको हो । टोलीमा वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारी, उपसचिव मधु घिमिरे तथा मन्त्रीको सचिवालयका आदित्य कर्म सदस्य थिए । रोहवरमा शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौला रहेका थिए ।
प्रकाशित समय : २०:३४ बजे


















