गृहपृष्ठ मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति

मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति

मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चार वर्षको अन्तरालमा ९३ दशमलव ३९ प्रतिशतले आन्तरिक राजस्व सङ्कलन वृद्धि गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, राजस्व व्यवस्थापनलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

आज क्रियाशील पत्रकार मञ्च भक्तपुरले यहाँ आयोजना गरेको ‘मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीसँग अन्तक्र्रिया’ कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले कुनै किसिमको कर वृद्धि नगरे पनि तीन गुणा राजस्व सङ्कलन भएको बताए।

उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ मा ५२ करोड ५६ लाख एक हजार ४२७ आन्तरिक राजस्व सङ्कलन गरेको जनाउँदै आव २०८१र८२ मा २७ करोड १७ लाख ५८ हजार ५८५ सङ्कलन भएको बताए । उनका अनुसार आव २०८१र८२ को तुलनामा २०८२र८३ को राजस्व सङ्कलन ९३ दशमलव ३९ प्रतिशतले बढी हो ।

नगरप्रमुख श्रेष्ठले आव २०७८र७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७, आव २०७९र८० मा २४ करोड १३ लाख ३८ हजार ७४८, आव २०८०र८१ मा ३० करोड चार लाख ४४ हजार ५६५ राजस्व सङ्कलन भएको जानकारी दिए ।

आवासीय घरबहाल कर १० बाट पाँच प्रतिशतमा घटाइएको बताउँदै उनले वर्षौँदेखि कर नतिरेर बसेका ठूला व्यवसायीहरूसँग कर सङ्कलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायलाई करको दायरामा ल्याइएको, करको दायरा विस्तार गर्दै करको नीतिमा सुधार ल्याउनेलगायत सकारात्मक पहल थालिएकाले राजस्व सङ्कलन वृद्धि भएको उल्लेख गरे।

नगरप्रमुख श्रेष्ठले सङ्घीय सरकारले चालु आवमा पूर्वाधार विकासतर्फ ५५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले नगरपालिकासँग करिब ६२ करोड मौज्दात रहेको रकम सदुपयोग गर्दै आफ्नै आन्तरिक स्रोतबाट रु ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको बताए ।

“हाम्रो चारवर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ । सीमित स्रोतसाधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छौँ । जनताको गुनासो नआउनेगरी सामवेशी रूपमा आवश्यकताअनुसार काम गरिरहेका छौँ ।”

सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्मका चार हजार ८१४ लाई र कक्षा ११ र १२ तफ २०४ जनालाई छात्रवृत्ति वितरण गरिएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका दुई हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको जनाउँदै उनले यस वर्षदेखि कक्षा ८ सम्मलाई दिवा खाजाको व्यवस्था गरिने बताए ।

नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए । उनले नेपाल(कोरियामैत्री नगर अस्पतालमा डायलायसिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार गर्दै दैनिक एक हजार २०० बिरामीलाई सेवा दिँदै आएको जानकारी दिए ।

पूर्वाधार विकासतर्फ सडक पक्की गर्ने कार्य, घरघरमा खानेपानीको पुर्याउने, विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य संस्था, पार्क, मठमन्दिर पुनर्निर्माण, मूर्तअमूर्त सम्पदाको संरक्षण गर्ने, ‘मध्यपुर उज्यालो अभियान’ अन्तर्गत मध्यपुर क्षेत्रभित्र विभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा ‘स्मार्टलाइट’ जडान गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख श्रेष्ठले बताए ।

उनले नीलबाराही क्षेत्र संरक्षणको काम भइरहेको, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई कुल ५२ लाख ४० हजार फिर्ता गरिएको, शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउँदै आएको बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आवका लागि नगरपालिकाले दुई अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याइसकेको जनाउँदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताए । नगरपालिकाद्वारा सञ्चालित नेपाल(कोरियामैत्री नगर अस्पतालले दनिक एक हजार २०० बिरामीलाई सेवा दिइरहेको उनले जानकारी दिए ।

उक्त अस्पताल निर्माण सम्पन्न हुनलागेको जनाउँदै नवनिर्मित सुविधासम्पन्न नयाँ भवनमा विशिष्टिकृत सेवा सञ्चालन गरिनुका साथै बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका बिरामीलाई सेवा प्रवाह गरिरहेको उनले बताए ।

नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा सकारात्मक उपलब्धि हासिल गरेको बताउँदै यस वर्ष पनि जनताको चाहना र आवश्यकताअनुसार महत्त्वपूर्ण उपलब्धि आउनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका सभापति एवं क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासँग जोडेर लैजानुपर्ने बताउँदै सञ्चारमाध्यमसँग स्थानीय सरकार सहकार्य र समन्वयमार्फ अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औँल्याउँदै जनताको सहज पहुँच र स्थानीय आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनुपर्ने बताए ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु