गृहपृष्ठ पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।
विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुने जनाएको छ ।
विभागका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कर्णाली प्रदेशको जाजरकोट आसपासमा १३८ मिलिमिटर वर्षा मापन भएको बताए ।
“पछिल्लो २४ घण्टामा कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा भारीदेखि धेरै भारी वर्षा भएको छ”, उहाँले भन्नुभयो, “इलाम–झापा आसपासको क्षेत्रमा करिब १३० मिलिमिटर तथा विराटनगर आसपास १२५ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो छ घण्टामा कोशी प्रदेशको इलाम–झापा क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा भएको छ ।”
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा भएको छ भने मधेश प्रदेशको पश्चिमी क्षेत्रमा भने वर्षा नभएको र देशका अधिकांश स्थानमा हल्का वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिए।
विभागले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सहरी डुबान हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित समय : १५:४७ बजे



















