global ime bank Long Banner Ad

गृहपृष्ठ ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच ऊर्जा सहकार्यबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तनाका आकिहिकोबीच नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ।

मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा जाइकाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कनकाइ र चन्द्रनहर सिँचाइ आयोजना तथा नागढुंगा सुरुङमार्ग निर्माणमा जापानको योगदानको प्रशंसा गरे। उनले आगामी दिनमा पनि ऊर्जा पूर्वाधार विकासमा सहकार्यलाई निरन्तरता दिन आग्रह गरे।

भेटमा मन्त्री श्रेष्ठले नेपालको ‘क्लिन एन्ड ग्रिन इनर्जी’ प्रवर्द्धनमा सहयोग गर्न आग्रह गर्दै प्रसारणलाइन विस्तारलाई सरकारले प्राथमिकतामा राखेको र त्यसका लागि मास्टर प्लान तयार भइरहेको जानकारी दिए। उनले वैकल्पिक तथा नवीकरणीय ऊर्जालाई नेपालको समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै नलगाड जलविद्युत् आयोजनामा पनि जाइकाको सहकार्य अपेक्षा गरे।

जाइका अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत् आयोजनाका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। त्यसको जवाफमा मन्त्री श्रेष्ठले आवश्यक समन्वय गरेर समस्या समाधानतर्फ अघि बढ्ने विश्वास दिलाए।

आकिहिकोले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी र सहकार्य गर्न जाइका इच्छुक रहेको बताउँदै पूर्वाधार निर्माणमा नवीन प्रविधि, अनुभव र लगानीमार्फत सहकार्य विस्तार गर्न तयार रहेको बताए।

प्रकाशित समय : ०५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु