गृहपृष्ठ नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ
काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारी प्रोटोन इ.मास ५ सार्वजनिक गरेको छ। कम्पनीले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी इ.मास ५ सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो।
कम्पनीका अनुसार इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। प्राइम भेरियन्टको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य पहिलो १०० ग्राहक र सीमित अवधिका लागि मात्र लागू हुनेछ।
नेपालमा प्रोटोनको दोस्रो विद्युतीय मोडलका रूपमा आएको इ.मास ५ सहरी प्रयोग र दैनिक यात्रालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। यो गाडीले हालै मलेसियाको अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि प्राप्त गरेको थियो।
इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, अगाडि ७० लिटर क्षमताको फ्रङ्क तथा पछाडि ३७५ लिटर क्षमताको लगेज स्पेस उपलब्ध छ। गाडीमा ३२ वटा स्टोरेज कम्पार्टमेन्ट समावेश गरिएको कम्पनीले जनाएको छ।
सार्वजनिक कार्यक्रममा नेपालस्थित मलेसियाली दूतावासका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, व्यवसायिक साझेदार, सञ्चारकर्मी तथा ग्राहकको सहभागिता रहेको थियो।
कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली ग्राहकलाई अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता र प्रतिस्पर्धी मूल्यमा विद्युतीय सवारी उपलब्ध गराउने उद्देश्यअनुसार इ.मास ५ सार्वजनिक गरिएको बताए। यसले नेपालको दिगो यातायाततर्फको रूपान्तरणमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर ली झिदानले नेपाललाई प्रोटोनको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै जगदम्बा मोटर्ससँगको सहकार्यले नेपाली ग्राहकमाझ प्रोटोन इ.मासलाई विश्वसनीय विद्युतीय ब्रान्डका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै आएको छ। कम्पनीका अनुसार प्रोटोन इ.मास हाल मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डमध्ये एक बनेको छ।
कम्पनीले देशभरका प्रोटोन इ.मास शोरुममार्फत ग्राहकले नयाँ इ.मास ५ को प्रत्यक्ष अनुभव लिन तथा सीमित अवधिको सुरुवाती मूल्यमा बुकिङ गर्न सक्ने जनाएको छ।
प्रकाशित समय : १४:५७ बजे


















