गृहपृष्ठ लोपोन्मुख मल्लागिरीको खेतीमार्फत संरक्षणको प्रयास
लोपोन्मुख मल्लागिरीको खेतीमार्फत संरक्षणको प्रयास
तुलसीपुर । लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला ९मल्लागिरी० संरक्षणलाई आयआर्जनसँग जोड्दै दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका बासिन्दाले घरघरमा यसको खेती विस्तार गरेका छन् । संरक्षणका लागि गरिएको पहल अहिले स्थानीयको आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेको छ ।
स्थानीय प्रविर पुनका अनुसार छिल्लीकोटका प्रत्येक घरमा १०० भन्दा बढी मल्लागिरीका बिरुवा रोपिएका छन् । विश्वमै लोपोन्मुख मानिने यो प्रजातिको बिरुवाको माग बढ्दै गएपछि यहाँ उत्पादन गरिएका बिरुवा नेपालका २६ जिल्लासम्म पुगेका छन् ।
“विश्वमै लोपोन्मुख रहेको यो बिरुवा छिल्लीकोटमा पाइन्छ भन्ने थाहा पाएपछि धेरै जना यहाँ आएर बीउ लैजानुहुन्छ,” उनले भने, “अहिलेसम्म २६ जिल्लामा यसको बिरुवा पुगेको छ ।”
स्थानीयका अनुसार यहाँ उत्पादन हुने सुगन्धकोकिला विदेशसमेत निर्यात हुने गरेको छ । स्थानीय जीवराज रेउलेले यहाँबाट कच्चापदार्थका रूपमा बिक्री हुने सुगन्धकोकिलाको बोक्रा उच्चस्तरीय सेन्ट र अगरबत्ती बनाउन प्रयोग हुने जानकारी आफूहरूले सुनेको बताए। “हामीले कच्चापदार्थ बेच्ने हो, त्यसबाट अरू के–कस्ता वस्तु उत्पादन हुन्छन् भन्नेबारे भने धेरै जानकारी छैन”, उनले भने ।
स्थानीयका अनुसार एउटा रुखबाट २०० किलोग्रामसम्म सुगन्धकोकिला उत्पादन हुन्छ । पछिल्ला वर्षमा पुराना रुख सुक्दै जान थालेपछि संरक्षणमा सरकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ ।
“हामीले संरक्षणका लागि नयाँ बिरुवा रोपिरहेका छौँ,” रेउलेले भने , “सरकारले पनि संरक्षण र प्रवद्र्धनमा सहयोग गरे स्थानीयको आम्दानी बढ्नुका साथै यो लोपोन्मुख प्रजाति जोगाउन सहज हुने थियो ।”
स्थानीय पूर्ण पुनका अनुसार सुगन्धकोकिला धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेल निकाल्न सकिन्छ । उनले यसको संरक्षण पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताए ।
सुगन्धकोकिला समुद्री सतहदेखि ८०० देखि दुई हजार मिटर उचाइसम्म हिमाली हावा बहने जङ्गलमा राम्रोसँग हुर्कने गर्छ । बिरुवा रोपेको चार वर्षपछि नै उत्पादन दिन सुरु गर्ने भएकाले यसको व्यवस्थित खेती गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने स्थानीयको विश्वास छ ।
हाल स्थानीयवासी जङ्गलमा रहेका नयाँ बिरुवा संरक्षणमा सक्रिय छन् । सुगन्धकोकिलाको बोक्रा सेन्ट र अगरबत्ती बनाउन तथा गेडाबाट तेल उत्पादन गर्न प्रयोग हुने गरेको छ । यद्यपि, कहिलेकाहीँ उत्पादित सुगन्धकोकिलाले बजार नपाउने समस्या रहेको भन्दै चिस्यान केन्द्र स्थापना गरिदिन स्थानीयले माग गरेका छन् । उनीहरूका अनुसार छिल्लीकोटमा हरेक वर्ष डेढ सय क्विन्टलभन्दा बढी सुगन्धकोकिला उत्पादन भएर बिक्री हुने गरेको छ ।
प्रकाशित समय : १०:५१ बजे


















