global ime bank Long Banner Ad

गृहपृष्ठ कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन

कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन

कालीगण्डकी करिडोरः सडकसँगै बदलिएको जनजीवन

तानसेन । यहाँको रम्भा गाउँपालिका–१ अर्सदीका ६८ वर्षीय जगन्नाथ अर्याललाई छ घण्टा लगाएर तानसेन पुगेको याद ताजै छ । स्कुल पढ्दा पैदलै हिँडेर सदरमुकाम तानसेन गएको उनि सम्झन्छन । अर्याल भन्छन, “गाडी चढेर जानुपरे घरबाट चार घण्टा पैदल हिँडेर छर्दी खोला तरेर मालुङ्गा हुँदै गल्याङ्ग पुग्थ्याँै, त्यहाँबाट गाडी चढेर बल्ल तानसेन जान्थ्यौँ ।” डेढ दशकअघिसम्म बुटवल, पोखरा जानुपरे चार÷पाँच दिन लगाएर जानुपर्ने बाध्यता रहेको उनि बताउछन । अर्याल भन्छन, “पहिले त निकै कष्ट थियो । अहिले त डेढ घण्टामै तानसेन, तीन÷चार घण्टामै पोखरा पुग्न सकिने भयो ।”

अर्याल यतिबेला आफ्नै आँगनमा सर्र्र् गाडीबाटै ओर्लनुहुन्छ । “आफ्नै घर आँगनबाट मोटर गुड्ला र बस चढेर तानसेन, काठमाडौँ, बुटवल, पोखरा पुगिएला भन्ने कल्पना नै थिएन”, उनि भन्छन । अहिले सवारीसाधनमै चढेर तानसेन, बुटवल, पोखरा, काठमाडौँ पुग्न पाउँदा धेरै सहज भएको छ । चार÷पाँच दिन हिँडेर जानुपर्ने बाध्यता अहिले हटेको उनले बताए । रामपुर नगरपालिका– १० दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि पाँच घण्टा लगाएर नुन, तेल लिन गल्याङ्ग पुग्ने गरेको स्मरण गर्छन । उनि भन्छन, “हाम्रो बुबा, हजुरबुबाहरु नुन लिन तीन÷चार दिन लगाएर बुटवल जानुहुन्थ्यो, पछि गल्याङ्गसम्म आउन थालेपछि हामीहरु पाँच घण्टा पैदल हिँडेर जान्थ्यौँ तर अहिले त्यो अवस्था छैन ।”

केही वर्षअघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि बजार पुग्न सक्दैनथे । बिरामीलाई डोकोमा बोकेर उकालो–ओरालो हिँड्नुपर्ने बाध्यता थियो । किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो । तर आज त्यही गाउँमा गाडीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छ । यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर । कालीगण्डकी करिडोर निर्माण भएपछि अर्याल र अधिकारीको यात्रा मात्र होइन यस क्षेत्रका सयौँ नागरिकलाई समेत सहज भएको छ ।

कालीगण्डकी करिडोर सडक ट्रयाक खुलेपछि अहिले धेरै खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । यसले गर्दा कतिपय स्थानमा नयाँ सहर बसेको छ भने दुर्गमका बस्तीलाई करिडोरसम्म जोडेपछि जनजीवन सहज बनेको छ । पाल्पाको राम्दीदेखि रानीमहल १७ किलोमिटरबाहेक अन्यत्र सडक ग्राभेल छ । झन्डै २५० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । सडकको स्तरोन्नतिसँगै कृषिउपज उत्पादन गर्ने, शिक्षा, स्वास्थ्यको पहुँचमा सजिलो भएको छ ।

कालीगण्डकी नदीको छेउ हुँदै रेखाङ्कन गरिएको सडक आसपास नयाँ बस्तीसमेत विस्तार भएका छन् । गण्डकी प्रदेशको पूर्वी नवलपरासीबाट सुरु भएर लुम्बिनीको पाल्पा, गुल्मी, पुनः गण्डकीकै बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म करिडोरअन्तर्गत सडक निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको ४४५ किलोमिटर सडक निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ । “हामीलाई बजार जान चार÷ पाँच घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो,” रम्भा हुँगीका ७० वर्षीय कमल भण्डारीले भने, “अहिले त सहर जान कुनै दुःख छैन । दुई÷तीन घण्टामै बजार गएर आउने गरिन्छ ।” आफूले निकै दुःख गरे पनि अहिले छोरानातिका लागि सहज भएको उहाँ सुनाउछन । “हेर्दाहेर्दै, देख्दादेख्दै परिवर्तन हँुदा सपनाजस्तै लाग्दो रहेछ । हिजो त गेझा हँुगी, खालीवन फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङ्गसम्म पैदल, त्यसपछि बस चढेर जानुपर्ने बाध्यता थियो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिता बनाउन होस् या राहदानी बनाउन होस्, मालपोत, नापी कार्यालयमा पुगेर काम सक्न कठिन हुन्थ्यो । बास बस्नुपर्ने बाध्यता थियो । अब ती दिनका कुरा गर्दा नयाँ पुस्तालाई कथा जस्तै लाग्छ”, भण्डारीले भन्नुभयो । नवलपुरको बौद्धिकाली गाउँपालिका–२ डेढगाउँका खेतको छेउछाउ बाँदर लागेर अन्नबाली जोगाउन पनि मुस्किल हुन्थ्यो । विगतमा यहाँ बाक्लो बस्ती नहुँदा बाँदरबाट बाली जोगाउन निकै समस्या हुने गरेको स्थानीय धु्रव पङ¬्गेनी बताउनुहुन्छ । उनका अनुसार सडक नआउँदासम्म यहाँ दुर्गमजस्तै थियो । पछि सडक सञ्जालले गाउँ जोडेरपछि अहिले यहाँको जनजीवन नै परिवर्तन भएको पङ्गेनीले बताए ।

खेतकै बीचबाट राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडक खुलेपछि अहिले यहाँ निकै चहलपहल भएको छ । यहाँ होटेल व्यवसाय सञ्चालनमा छन् भने दैनिक दर्जनौँ गाडी ओहोरदोहोर गर्छन् । पाल्पा र नवलपुर मात्रै होइन, कालीगण्डकी करिडोरको ट्र्याक खुलेर स्तरोन्नति भएसँगै गुल्मीको पूर्तिघाटदेखि बाग्लुङको मालढुङ्गासम्म दर्जनौँ व्यवसाय सञ्चालन भएका छन् भने सडक आसपासमा नयाँ बस्ती विकास भएको स्थानीय पुरन रास्कोटी बताउछन ।

प्रसिद्ध धार्मिकस्थल देवघाटदेखि मुक्तिनाथसम्म जोड्ने परिकल्पनाअनुरुप कालीगण्डकी नदीको किनारैकिनार कालीगण्डकी करिडोर निर्माण भएपछि पूर्वी नवलपरासी, चितवन, तनहुँ, पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङसम्मका लाखौँ जनतासँग प्रत्यक्षरुपमा जोडिन पुगेको छ । दक्षिणी मुलुकदेखि उत्तरी मुलुकसम्म जोड्ने सबैभन्दा कम दूरी मानिने कालीगण्डकी करिडोर २०६५ सालदेखि सुरु भएको हो । कालीगण्डकी करीडोरको पूर्वी नवलपरासीमा ८७ किलोमिटर, पाल्पामा ७८, गुल्मीमा ४२, बागलुङमा ३८, पर्वतमा १३, म्याग्दीमा ४२ र मुस्ताङमा १४७ किलोमिटर पर्छ ।

कालीगण्डकी नदीसँगै विस्तार भएको सडकले पहाडी बस्तीलाई राष्ट्रिय राजमार्गसँग जोडेको छ । सडक खुलेपछि स्थानीयको दैनिकी मात्र होइन, आर्थिक र सामाजिक जीवनशैली पनि बदलिएको छ । “पहिला उत्पादन बेच्न दुई÷तीन दिन लाग्थ्यो । अहिले बिहान टिपेको तरकारी दिउँसो बजार पुग्छ”, हेक्लाङका किसान विपिन अर्यालले भने, “यातायात सहज भएपछि ढुवानी लागत घटेको छ र उत्पादनले राम्रो मूल्य समेत पाउन थालेको छ ।”

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनीका धनबहादुर विश्वकर्माको जीवन पनि क्रमशः फेरिँदै छ । दैनिक अभाव झेलिरहने उहाँको जीवनको दैनिकी सडकका कारण फेरिएको हो । परम्परागत खेतीले तीन महिना जेनतेन खान पुग्ने उनलाई कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएसँगै गरेको तरकारीखेतीले वर्षौंभरिको अभाव टरेको छ । हाल उनले पाँच रोपनी जमिनमा तरकारीखेती लगाउएको छन । सरकारी तथा गैरसरकारी निकायबाट तालिम लिएर तरकारीखेती गरेयता उहाँलाई अभाव भन्ने थाहा छैन । “कालोपत्रे सहितको फराकिलो करिडोर सडकले मेरो जीवन बदलियो”, उनले भने, करिडोर आफू र अरू विपन्नका लागि वरदान सावित भएको उनको भनाइ छ ।

रामपुरका कृषक कृष्णकुमार अर्याल पनि करिडोरका कारण व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढेको बताउनुहुन्छ । विगतमा घर खर्चका लागि पालिने गाईभैँसी आजभोलि कृषकहरु व्यावसायिक रुपमा पालन गरी दुग्ध उत्पादनतर्फ लागि परेका छन् । उत्पादित दूध, कुखुराको अण्डा, कुखुराजस्ता वस्तुहरुको उत्पादन बढेको छ । यहाँ उत्पादित दूध, अण्डा चितवन, पोखरासम्म पुग्ने गर्दछ । यसैगरी सडक विस्तारका कारण तरकारी, केरा खेतीबाट समेत कृषकहरुले राम्रो आम्दानी लिन सफल भएका छन् ।

पछिल्लो समयमा रामपुर फाँटमा घाँसखेतीको सुरु भएको छ । पशुका लागि नेपियर, स्टाइलो, जै वर्षिमजस्ता घाँसको व्यावसायिक उत्पादन भएको छ । करिडोर आसपासका क्षेत्रमा अहिले कृषि, पशुपालनलगायत फर्म खोल्ने सङ्ख्या पनि अधिक छ । करिडोर आएपछि माथिल्ला गाउँबस्तीका बासिन्दा पनि व्यापार व्यवसायका लागि करिडोर छेउमा झर्ने क्रम तीव्र छ । नझर्ने पनि केही उत्पादन गरेर बजार पठाउने र त्यही पैसाले अरू अत्यावश्यक सामान खरिद गर्ने गरिरहेका छन् । करिडोरका कारण दुई÷चार केजी कृषिउपज उत्पादन भए पनि बजार लैजान र केही ल्याउन धेरै सहज भएको स्थानीय बताउँछन् ।

कालीगण्डकी करिडोरका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत ठूलो टेवा पुगेको छ । करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत दैनिक सयौँ धार्मिक पर्यटक आउने गरेका छन् । रामपुर नगर क्षेत्रका धार्मिक, पर्यटकीय, सांस्कृतिक महत्व बोकेका स्थानको अध्ययन अवलोकनको लागि आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । यहाँ जल यात्रा गर्ने पर्यटकसमेत उल्लेखीय रुपमा आउने गरेका छन् ।

करिडोर आएपछि यस क्षेत्रका बासिन्दालाई यही माटोमा आयआर्जनमा जोडिने राम्रो अवसर प्राप्त भएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउछन । उनले करिडोरले समृद्धिका लागि ठूलो टेवा पु¥याएको बताए । “कालीगण्डकी करिडोर नआएको भए धेरै ठाउँहरु अहिलेसम्म पनि सडक सञ्जालले जोड्न मुस्किल हुन्थ्यो होला”, थापाले भने “करिडोर आएपछि एकाएक अवसर र सुविधाबाट वञ्चित बनेका गाउँठाउँ सुगम बनेका छन् ।” उनले रामपुरको विकासको आधार पनि करिडोर भएको बताए ।

कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ । सडक सञ्जालले गर्दा स्वास्थ्य सेवामा पनि उल्लेखनीय सुधार आएको छ । गर्भवती महिला, दुर्घटनाका घाइते वा आकस्मिक बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने भएको छ । विद्यालय र कलेज जाने विद्यार्थीको यात्रा छोटिएको छ भने सरकारी सेवा लिन सदरमुकाम धाउनुपर्ने समय पनि कम भएको छ । सडक किनारमा होटल, पसल, ग्यारेज र अन्य साना व्यवसाय खुल्न थालेका छन्, जसले रोजगारीका नयाँ अवसर समेत सिर्जना गरेको छ ।

कालीगण्डकी करिडोर एउटा सडक मात्र होइन, पहाडका बासिन्दाको जीवन, अर्थतन्त्र र सम्भावनालाई नयाँ दिशा दिने विकासको आधार बनेको छ । अझै पूर्वाधार सुदृढीकरण, नियमित मर्मत र सुरक्षित सञ्चालन सुनिश्चित गर्न सकिए यस करिडोरले दीर्घकालीन समृद्धिको ढोका अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु