गृहपृष्ठ समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री (भिडियो सहित)
समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री (भिडियो सहित)
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।
हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए ।
उनले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिए ।
उनले भने, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ । त्यसका लागि हुलाक सेवा विभाग र यससम्बन्धी सेवा दिने निजी सेवा प्रदायकसँग पनि सहकार्य गरेर के–के समस्या परेका छन्, ती सुनेर समाधानका लागि हामी अगाडि आएका छौँ । अब हुलाक सेवालाई आधुनिकीकरण नगरी, सबल वा प्रभावकारी नबनाई र सेवा प्रवाहमा लाग्ने समय नघटाई हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा रहन सक्दैन ।’
मन्त्री तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, सबल र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहको समय घटाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसो नगरे हुलाक लोकप्रिय सेवा प्रदायकका रूपमा टिक्न नसक्ने धारणा राखे ।
उनले नागरिकको सोच, समयको महत्व र अपेक्षाअनुसार डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरी सेवा सञ्चालन गर्न सके सफलता हासिल गर्न सकिने बताए ।
साथै, हुलाकलाई परम्परागत सेवामा मात्र सीमित नराखी समयानुकूल रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
प्रकाशित समय : १२:२५ बजे



















