गृहपृष्ठ रास्कोटमा खाद्यान्न अभाव नहुने
रास्कोटमा खाद्यान्न अभाव नहुने
मान्म । रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ । वर्षायाममा हुनसक्ने खाद्यान्न अभावलाई ध्यान दिँदै नगरपालिकाको खाद्य डिपोमा खाद्यान्न मौज्दात राख्ने भएको हो । वर्षायामलाई पुग्नेगरी खाद्यान्नको मौज्दात, भण्डारण अवस्था, वितरण प्रक्रिया, गुणस्तर तथा सर्वसाधारणलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउनेगरी नगरपालकाले काम गरिरहेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
“वर्षायाममा बाढीपहिराका कारणले सडक अवरुद्ध हुनेलगायत समस्याका कारणले खाद्यान्न ढुवानीमा समस्या हुन्छ”, उनले भने “नगरपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा सञ्चालन गरिएको खाद्य डिपोमा आवश्यक परिमाणमा खाद्यान्न मौज्दात गरिराखेको छौँ ।”
वर्षायाममा खाद्यान्न वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन तथा उपभोक्ताले सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न खाद्यान्न मौज्दात राख्ने निर्णय भएको प्रमुख शाहीले जानकारी दिए ।
“नगरपालिकाभित्रका नागरिकलाई पुग्नेगरी खाद्यान्न मौज्दात राखिएको छ”, उनले भने, “रास्कोट नगरपालिकासहित आसपासका नागरिकलाई खाद्यान्न वितरणमा सहज बनाइने छ ।” रास्कोट नगरपालिकाले नागरिकको खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय गरिने नगरपालिका उपप्रमुख मणिराज बरालले जानकारी दिए ।
“विपद् वा प्रतिकूल परिस्थितिमा नागरिकलाई खाद्यान्न अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आवश्यक सहकार्यलाई थप प्रभावकारी बनाइने छ”, उनले भने, “त्यसका लागि आवश्यक अनुगमन तथा नगरपालिकाले रेखदेखको काम गर्नेछ ।”
प्रकाशित समय : १२:१७ बजे



















