गृहपृष्ठ किसानमैत्री नीति र आधुनिक कृषिमा जोड दिन आङदेम्बेको आग्रह
किसानमैत्री नीति र आधुनिक कृषिमा जोड दिन आङदेम्बेको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले कृषि क्षेत्रमा लगानी वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय बीउ–बिजन, पर्याप्त मलखाद, भरपर्दो सिँचाइ तथा कृषि उपजको सुनिश्चित बजार व्यवस्था आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
असार १५ का अवसरमा जारी शुभकामना सन्देश जारी गर्दै उनले धान दिवस नेपाली कृषि, संस्कृति र जनजीवनसँग जोडिएको पर्व रहेको बताएका हुन् ।
संविधानले सुनिश्चित गरेको खाद्यसम्बन्धी हकको प्रभावकारी कार्यान्वयनका लागि किसानमैत्री नीति, उत्पादनमुखी कृषि प्रणाली तथा कृषि क्षेत्रमा राज्यको लगानी थप प्रभावकारी बनाउनुपर्ने बताए ।
आङदेम्बेले किसानहरूले अझै पनि समयमै मल, बीउ, सिँचाइ तथा उत्पादनको उचित मूल्य नपाउने समस्या भोगिरहेको उल्लेख गरे ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती सिर्जना भएको बताए । यस्तो चुनौतीको समाधानका लागि कृषि अनुसन्धान, जलवायुमैत्री प्रविधि, कृषि बीमा तथा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए ।
कांग्रेस किसानका हक–हितको संरक्षण, कृषि क्षेत्रको आधुनिकीकरण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषिको दिगो विकासका पक्षमा निरन्तर प्रतिबद्ध रहेको दाबी गरे । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित समय : ०९:५४ बजे



















