गृहपृष्ठ वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
काठमाडौँ ।दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो फोहोर तस्करी नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यले यहाँ दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ ।
यहाँस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड दिएका हुन् ।
फोहोर तस्करी नियन्त्रणका व्यावहारिक उपाय, अनुसन्धान अनुभव र असल अभ्यास आदानप्रदान गर्नुका साथै यो अपराधविरुद्ध अन्तरक्षेत्रीय सहकार्यलाई अझ प्रभावकारी बनाउने रणनीति तजुमा गर्न गोष्ठी आयोजना गरिएको हो ।
सन् २०२४ मा यहाँ आयोजित अवैध सिकार तथा वन्यजन्तु तस्करी नियन्त्रणसम्बन्धी क्षेत्रीय गोष्ठीको सफलतापछि वातावरणीय अपराधअन्तर्गत फोहोर तस्करी नियन्त्रणमा केन्द्रित दोस्रो संस्करण आयोजना गरिएको फ्रान्सेली दूतावासले जनाएको छ ।
गोष्ठीमा नेपालको भन्सार विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिका साथै फ्रान्सेली राष्ट्रिय जेन्डार्मेरीको वातावरण तथा सार्वजनिक स्वास्थ्य कानुन कार्यान्वयन निर्देशनालय, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया, भारत, इन्डोनेसिया, सिङ्गापुर र भियतनामका सुरक्षा तथा भन्सार अधिकारी सहभागी थिए ।
गोष्ठीमा अन्तरराष्ट्रिय प्रहरी सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय र निजी क्षेत्रका प्रतिनिधिको पनि सहभागिता थियो ।
उद्घाटन समारोहमा नेपालस्थित फ्रान्सेली दूतावासकी कार्यवाहक प्रमुख एल्सा कालीले गोष्ठी आयोजना गर्न सहयोग पु¥याएकोमा नेपाल सरकारका निकायप्रति आभार व्यक्त गर्दै नेपाल र फ्रान्स दुवै वातावरणीय अपराध नियन्त्रण तथा कानुन कार्यान्वयन निकायसँगको सहकार्यप्रति प्रतिबद्ध रहेको बताए ।
फ्रान्सेली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासकी गृहसुरक्षा सहचारी क्रिस्टेल फोन्तेनले वातावरणीय अपराध विश्वकै चौथो सबैभन्दा बढी आम्दानी हुने आपराधिक गतिविधिका रूपमा विकसित भएको उल्लेख गर्दै यसबाट वार्षिक ७० अर्बदेखि २१३ अर्ब अमेरिकी डलरसम्मको अवैध कारोबार हुने अनुमान रहेको बताए ।
फ्रान्सेली राष्ट्रिय जेन्डार्मेरीअन्तर्गत सिइएसएनका कर्णेल सेबास्टियन नोशेजले वातावरणीय अपराध नियन्त्रणमा फ्रान्सले रोकथामदेखि आपराधिक अनुसन्धानसम्म एकीकृत र समन्वित प्रणाली अवलम्बन गरेको जानकारी दिए । उनले सन् २०२३–२०२४ मा युरोप, एसिया र अफ्रिकाका साझेदारसँग सञ्चालन गरिएको ‘एकीकृत’ कार्यक्रमले दक्षिण तथा दक्षिणपूर्वी एसियामा फोहोर तस्करी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि अब अझ प्रभावकारी कदम आवश्यक रहेको बताए।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयकी मुएन्दाओ सुआन्दीले ‘वेस्टनेट’ परियोजनाबारे जानकारी दिँदै फोहोर तस्करीमा संलग्न ढुवानी सञ्जाल र आर्थिक कारोबार पत्ता लगाउन निकायबीचको सहकार्य तथा कानुनी सहयोगलाई थप तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याए ।
अन्तरराष्ट्रिय प्रहरी सङ्गठनका वातावरणीय सुरक्षा उपनिर्देशनालयका सञ्चालन संयोजक मिचेले भियालेले फोहोर तस्करीले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्दै आपराधिक समूहलाई आर्थिक लाभ पु¥याइरहेको बताउनुभयो । उहाँले यसको नियन्त्रणका लागि विश्वव्यापी समन्वयात्मक प्रयास आवश्यक छ बताए ।
गोष्ठीमा प्रस्तुत अध्ययनअनुसार हिन्द महासागर क्षेत्रमा रहेको श्रीलङ्काले बन्दरगाहमार्फत हुने फोहोर तस्करीको उच्च दबाब सामना गरिरहेको छ भने बङ्गलादेशले जहाज ‘रिसाइक्लिङ’ उद्योगको प्रमुख केन्द्रका रूपमा समुद्री वातावरणीय सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको विषयमा सम्बन्धित देशका प्रतिनिधिले जानकारी गराएका थिए ।
गोष्ठीको समापन काठमाडौंस्थित ‘मोवेयर ल्याब’को अवलोकनबाट गरिएको थियो । सगरमाथा राष्ट्रिय निकुञ्जबाट सङ्कलित प्लास्टिक र सिसाजन्य फोहोरलाई कलात्मक तथा घरायसी सामग्रीमा रूपान्तरण गर्ने उक्त नेपाली सामाजिक उद्यमको कार्यप्रणाली सहभागीलाई अवलोकन गराइएको थियो ।
प्रकाशित समय : १०:५१ बजे




















