गृहपृष्ठ अशक्तलाई घरमै नागरिकता
अशक्तलाई घरमै नागरिकता
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ । यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ ।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनिलगायतको टोलीले आवश्यक प्रक्रिया पु¥याई विनितालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
नागरिकता प्राप्त गरेपछि विनिताको परिवार खुसी भएको छ । विनिताका बुबा विष्णुप्रसादले नागरिकता प्राप्त गर्न सहज वातावरण बनाइदिएकामा सबैलाई धन्यवाद दिए । “अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा प्राप्त गर्न विभिन्न कठिनाइ हुन्थ्यो, यो प्रशंसनीय छ”, उनले भने ।
यसअघि प्रशासनलको टोलीले रोगले ग्रसित पाँचखाल–२ की सुनिता वाइबालाई घरमै नागरिकता प्रदान गरेको थियो । क्यान्सर रोगका कारण घरबाहिर निस्कन नसक्ने अवस्थामा रहनुभएकी उहाँलाई निवासमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयले आवश्यकताको आधारमा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए। उनले उमेर पुगेका अशक्त एवं अपाङ्गता भएका व्यक्तिका परिवारलाई कार्यालयमा सम्पर्क गर्न सार्वजनिक अपील समेत गरेका छन ।
प्रकाशित समय : १८:५४ बजे



















