गृहपृष्ठ चिमखोलाको पहिचान र म्याग्दीको गौरव : थाली नाच
चिमखोलाको पहिचान र म्याग्दीको गौरव : थाली नाच
म्याग्दी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेका छन् ।
उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको देख्दा आज पनि दर्शक मन्त्रमुग्ध हुन्छन् । अहिले धेरै कलाकारको रुचि र दर्शकको आकर्षण बनेको थाली नाचको यात्रा भने उनकै पँधेरोमा थाली खेलाउने रहरबाट सुरु भएको हो ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी हिरामायाले किशोरी उमेरमा पँधेरोमा थाल धोएर घर फर्किने क्रममा हातमा थाल घुमाउने गर्थिन् । सुरुमा रमाइलो र खेलकै रूपमा थालेको त्यो अभ्यास विस्तारै एउटा अनौठो कला बन्यो । पछि गाउँका अग्रजहरूले उनलाई लोकभाकाका गीतमा थाल घुमाउँदै नाच्न लगाए । त्यही अभ्यासले आज चिमखोलाको पहिचान र म्याग्दीको गौरव बनेको थाली नाचलाई जन्म दियो ।
“धारामा थाल धोएर घर फर्किने क्रममा थाल हातमै घुमाउँदै हिँड्थेँ । सुरुमा एउटा हातमा मात्रै थाल नचाउँथेँ । तर निरन्तर अभ्यासले दुवै हातमा एकैसाथ थाल घुमाउन सिकेँ,” हिरामायाले भनिन्, “त्यसलाई देखेर गाउँका अग्रजहरूले गीतको भाकामा थाल नचाउन लगाए । नाचप्रति रुचि भएकाले मैले नृत्यसँगै थाललाई पनि लयबद्ध रूपमा नचाउन थालेँ ।”
गीत, लय र नृत्यसँगै दुवै हातमा थाल सन्तुलनमा राखेर घुमाउनुपर्ने भएकाले थाली नाच अन्य लोकनृत्यभन्दा फरक र आकर्षक मानिन्छ । चिमखोलाको एउटा गाउँबाट सुरु भएको यो कला आज जिल्लाकै सांस्कृतिक चिनारीका रूपमा स्थापित भइसकेको छ । राष्ट्रिय मञ्चदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म थाली नाचले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
यसको उत्पत्ति, संरक्षण, पुस्तान्तरण र विश्वव्यापी विस्तारको कथा केवल एउटा नृत्यको कथा मात्र होइन, समुदायको सांस्कृतिक पहिचान जोगाउने सङ्घर्ष र समर्पणको कथा पनि हो ।
विसं २००८ मा चिमखोलाको जस्लाङमा जन्मिएकी हिरामायाका अनुसार त्यतिबेला महिलाहरूलाई सार्वजनिक रूपमा नाचगानमा सहभागी हुन परिवारबाट सहज स्वीकृति मिल्दैनथ्यो । बुबाआमा घरमा नभएको बेला उनी थाली नचाउने अभ्यास गर्थिन् । पछि हरेलो, दशैँ, तिहार, भूमे पूजा तथा विभिन्न मेला–पर्वमा थाली नाच प्रस्तुत गर्न थालेपछि यो कला विस्तारै गाउँको पहिचान बन्दै गयो ।
सुरुआती समयमा कलाकारहरूले ‘चरेसको थाल’ भनेर चिनिने परम्परागत थाल नचाउने गर्थे । चरेसको थाल गह्रौँ हुने भएकाले सन्तुलन मिलाउन सजिलो हुन्थ्यो । समयक्रमसँगै त्यसको स्थान स्टिलका थालहरूले लिए पनि यसको सांस्कृतिक महत्व भने उस्तै छ ।
एकल थाली नाचबाट राष्ट्रिय पहिचानसम्म
करिब छ दशकअघि सुरु भएको थाली नाचको जीवित इतिहासका रूपमा हिरामाया पुन श्रीष परिचित छिन् । उनले गाउँ, जिल्ला, अञ्चल हुँदै राष्ट्रियस्तरसम्म पुगेर थाली नाचको प्रदर्शन गरिन् ।
विसं २०२२ मा तत्कालीन मुस्ताङ जिल्लाको अस्थायी सदरमुकाम दानामा आयोजित सांस्कृतिक कार्यक्रममा उनले १४ वर्षकै उमेरमा थाली नाच प्रस्तुत गरेकी थिइन् । एउटी बालिकाले दुवै हातमा थाल घुमाउँदै नाचेको देख्दा धेरै दर्शक आश्चर्यचकित बनेका थिए ।
विसं २०२५ मा राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पहिलोपटक राष्ट्रियस्तरमा थाली नाच प्रस्तुत गरिन् ।
“त्यतिबेला चिमखोला मुस्ताङ जिल्लामै पर्थ्यो । धौलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै मैले थाली नाच देखाएकी थिएँ । दुवै हातमा थाल नचाउँदै नाच्ने शैली धेरैका लागि नौलो थियो,” हिरामायाले स्मरण गरिन् ।
विसं २०३० मा तत्कालीन बडामहारानीको जन्मोत्सवका अवसरमा काठमाडौँमा आयोजित लोकनृत्य प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गर्दै पदक र प्रमाणपत्र प्राप्त गरिन् । यो उपलब्धिले थाली नाचलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्यो ।
समूहमा थाली नाचको विकास
हिरामायाले एकल रूपमा देखाउँदै आएको थाली नाचलाई सामूहिक रूपमा विकास गर्ने काम चिमखोलाकी धनकुमारी थापाले गरिन् । हिरामायाबाट प्रेरित भएर थाली नाच सिकेकी थापाले गाउँमा यसलाई समूहगत रूपमा प्रशिक्षण दिन सुरु गरिन् ।
“हिरामायाले थाल नचाउँदै नाचेको देखेर हामी ताली बजाएर हेर्थ्यौँ । पछि हेर्दाहेर्दै मैले पनि सिकेँ,” थापाले भनिन् ।
विसं २०३५ मा बेनीमा भएको लोकनृत्य प्रतियोगितामा पहिलोपटक सामूहिक थाली नाच प्रस्तुत गरिएको थियो । त्यसपछि विसं २०४२ मा वीरगञ्जमा सम्पन्न तेस्रो राष्ट्रिय लोकनृत्य प्रतियोगितामा धौलागिरि अञ्चलको प्रतिनिधित्व गर्दै गएको टोली प्रथम हुन सफल भयो ।
यसै अवधिमा ‘नेपालमा बनेको थाल, हातैमा नचाउँला झलल’ बोलको गीत सिर्जना गरी समूहगत थाली नाचलाई थप लोकप्रिय बनाइएको थियो ।
विसं २०४४ मा काठमाडौँमा आयोजित सार्क सम्मेलनमा समेत थापाको नेतृत्वमा रहेको टोलीले थाली नाच प्रदर्शन गर्यो । त्यसपछि यो नृत्य अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बन्न थाल्यो ।
संरक्षण, पुस्तान्तरण र विस्तार
समयसँगै थाली नाचलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासहरू पनि बढेका छन् । गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा तालिम सञ्चालन हुँदै आएका छन् ।
रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको प्रशिक्षणबाट थाली नाच सिकेकी हुन् । अहिले उनी विभिन्न महोत्सव र सांस्कृतिक कार्यक्रममा थाली नाच प्रस्तुत गर्दै आएकी छन् ।
नेपाल मगर सङ्घ म्याग्दीका अनुसार तालिममार्फत सिकेका धेरै युवायुवती अहिले विभिन्न अवसरमा थाली नाच प्रदर्शन गरिरहेका छन् ।
प्रवासमा लोकप्रिय
चिमखोलाबाट सुरु भएको थाली नाच अहिले विदेशमा रहेका नेपाली समुदायबीच पनि लोकप्रिय बनेको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) लगायतका संस्थाले आयोजना गर्ने कार्यक्रममा थाली नाच नियमित रूपमा प्रस्तुत हुने गरेको छ ।
हङकङबाट सुरु भएको यो अभ्यास अहिले म्याग्देली समुदाय पुगेका ३० भन्दा बढी देशमा फैलिएको छ । विदेशमा जन्मिएका नयाँ पुस्ताले समेत आफ्नो मौलिक संस्कृति सिक्न थालेपछि थाली नाचको भविष्य थप उज्यालो देखिएको छ ।
मौलिकता जोगाउने चुनौती
थाली नाचको लोकप्रियतासँगै यसको प्रस्तुतिमा परिवर्तन पनि देखिन थालेको छ । अहिले आधुनिक लोकगीत, दोहोरी तथा पञ्चेबाजाको तालमा समेत थाली नाच प्रस्तुत गरिन्छ ।
अग्रज कलाकारहरूका अनुसार नयाँपन आवश्यक भए पनि मौलिक शैली जोगाउनु अझ महत्वपूर्ण छ । थाली घुमाउने सीप मात्र होइन, गीतको भाव, लय र तालसँग मिलाएर प्रस्तुत गर्ने परम्परागत शैलीलाई जोगाउनुपर्ने उनीहरूको जोड छ ।
चिमखोलाको आँगनबाट सुरु भएको थाली नाच आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ प्रस्तुत भइरहेको छ । समयसँगै प्रस्तुति र शैलीमा केही परिवर्तन आए पनि यसले बोकेको चिमखोलाको पहिचान र सांस्कृतिक गौरव अझै उत्तिकै जीवन्त छ । पँधेरोमा हिरामायाले थालेको त्यो सानो अभ्यास आज म्याग्दीको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा स्थापित भएको छ ।
प्रकाशित समय : १४:४८ बजे



















