आजको आधुनिक युगमा प्रविधि र सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बनिसकेका छन्। मोबाइलको पहुँचसँगै फेसबुक, इन्स्टाग्राम, टिकटक र रील्स जस्ता माध्यमहरूले नागरिकलाई संसारसँग जोड्ने काम त गरेका छन्, तर यसको सही सदुपयोग हुन नसक्दा विभिन्न कानुनी संकटहरू पनि सँगै भित्रिएका छन्। व्यक्तिगत मनोरञ्जनका लागि गरिने साना गल्तीहरू अनभिज्ञताका कारण गम्भीर साइबर अपराधमा परिणत भइरहेका छन्, जसले व्यक्तिलाई कानुनी कठघरामा मात्र उभ्याउँदैन, बरु समग्र सामाजिक प्रतिष्ठा नै सखाप पारिदिन्छ। त्यसैले, प्रविधिको प्रयोग गर्दा देशको कानुन र नागरिकको सीमा बुझ्नु अपरिहार्य भइसकेको छ।

वर्तमान समयमा नेपाली समाजमा डिजिटल साक्षरताको चरम अभाव खड्किएको देखिन्छ । सामाजिक सञ्जालमा कुन कार्य कानुनी हो र कुन कार्य गैरकानुनी हो भन्ने स्पष्ट रेखा कोर्न नसक्दा धेरै नागरिकहरू अन्जानमै अपराधी बन्न पुगेका छन्। अर्काको अनुमति बिना तस्बिर सार्वजनिक गर्नु, नक्कली खाता खोलेर जिस्काउनु, वा भ्रामक सूचना फैलाउनु जस्ता क्रियाकलापहरूलाई सामान्य ठान्ने प्रवृत्तिले गर्दा साइबर अपराधका घटनाहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । यो अवस्थालाई चिर्न र समाजलाई सचेत बनाउन आम नागरिकमा कानुनी चेतनाको सञ्चार गर्नु राज्य र सचेत समाजको मुख्य दायित्व हो ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा कानुनी चेतना जगाउनु आजको मुख्य आवश्यकता हो। इन्टरनेट र प्रविधिको आधुनिक दुनियाँमा ‘मलाई कानुन थाहा थिएन’ भन्दैमा कसैले पनि कानुनी सजाय र दायित्वबाट उन्मुक्ति पाउन सक्दैन। तसर्थ, आफ्ना दैनिक डिजिटल गतिविधिहरूलाई मर्यादित र सुरक्षित राख्न, साइबर अपराधको चंगुलबाट जोगिन तथा अरूलाई पनि बचाउनका लागि यस सम्बन्धी कानुनी एवं व्यावहारिक पक्षहरूलाई गम्भीरता पूर्वक बुझ्नु र आत्मसात गर्नु अपरिहार्य देखिन्छ ।

चोरी र चरित्रहत्या सम्बन्धी कानुनीपहिचान व्यवस्था

सामाजिक सञ्जालमा अरूको नाम, तस्बिर वा व्यक्तिगत विवरण प्रयोग गरेर नक्कली खाता खोल्नु पहिलो र गम्भीर अपराध हो। धेरैले रमाइलोका लागि वा बदला लिने उद्देश्यले अरूको जस्तै दुरुस्तै प्रोफाइल बनाएर समाजमा भ्रम फैलाउने गर्दछन्। यस्तो कार्यले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा अपूरणीय क्षति पु¥याउँछ। कानुनले यसलाई स्पष्ट रूपमा पहिचान चोरी र कीर्ते कार्य मान्दछ, जसका कारण कडा कारावास र जरिवानाको भागीदार हुनुपर्दछ।

यसैगरी, डिजिटल माध्यमबाट कसैको चरित्रहत्या गर्नु वा झूटा लाञ्छना लगाउनु अर्को दण्डनीय कार्य हो। फेसबुक वा इन्स्टाग्रामका पानाहरूमा प्रमाणित नभएका कुराहरू लेखेर कसैको इज्जतमा धक्का पु¥याउने वा अपमानजनक व्यङ्ग्य र ट्रोल बनाउने काम साइबर मानहानी अन्तर्गत पर्दछ। मानिसहरूले डिजिटल स्पेसलाई अनुशासनहीन थलो सोच्ने गल्ती गरिरहेका छन्, तर अनलाइनमा व्यक्त गरिएका प्रत्येक शब्द र तस्बिर कानुनी प्रमाणका रूपमा अदालतमा ग्राह्य हुन्छन्।

अर्काको व्यक्तिगत जीवनलाई लिएर लगातार म्यासेज वा कमेन्ट गरी मानसिक रूपमा प्रताडित गर्नु अनलाइन उत्पीडन र बुलिङ हो । सहमति बिना कसैको अडियो कल रेकर्ड सार्वजनिक गर्नु वा भिडियो कलको स्क्रीनशट लिएर सामाजिक सञ्जालमा पोस्ट गर्नु गोपनीयताको हक विपरीतको गम्भीर कसूर हो। राज्यको कानुनले प्रत्येक नागरिकको व्यक्तिगत गोपनीयता र आत्मसम्मानको रक्षा गर्ने ग्यारेन्टी गरेको हुनाले यस्ता गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याइन्छ ।

त्यस्तै, तस्बिर र भिडियोको तोडमोड गर्ने नयाँ प्रविधिहरू (जस्तै कृत्रिम बौद्धिकताबाट अनुहार वा आवाज बदल्ने माध्यम) को दुरुपयोग गरेर अश्लील वा भ्रामक सामग्री निर्माण गर्नु झन् भयानक अपराध बनेको छ । कसैले नबोलेको कुरा बोलेको भनी नक्कली च्याटको स्क्रीनशट बनाउने वा भिडियो क्लिप सम्पादन गरेर भाइरल बनाउने कार्य डिजिटल कीर्ते अन्तर्गत पर्दछ। यसले समाजमा अराजकता फैलाउने हुनाले यस सम्बन्धी कानुन निकै कडा बनाइएको छ।

अदालतबाट दोषी प्रमाणित नहुँदै सामाजिक सञ्जालमा कसैको तस्बिर राखेर ‘अपराधीघोषणा गर्नु वा ’’‘मिडिया ट्रायल’ चलाउनु कानुन हातमा लिनु सरह हो। सम्बन्ध विच्छेद वा प्रेम सम्बन्ध टुङ्गिएपछि पुराना रिस साध्नका लागि पुराना म्यासेज वा तस्बिरहरू सार्वजनिक गर्ने बदलामुखी भावनाका कार्यहरू अक्षम्य मानिन्छन्। नागरिकहरूले बुझ्नुपर्छ कि कसैको प्रतिष्ठामा आँच पु¥याउने जुनसुकै डिजिटल कृत्यले अन्ततः आफैलाई जेलको कोठासम्म पुर्याउँछ।

डिजिटल ठगी र वित्तीय अपराधको कानुनी सुरक्षा

इन्टरनेटको संसारमा वित्तीय ठगीका नयाँ–नयाँ प्रपञ्चहरू दैनिक रूपमा देखिने गरेका छन्। उपहार परेको वा चिट्ठा जितेको भन्दै सर्वसाधारणलाई लोभ्याउने र अग्रिम कर वा डेलिभरी शुल्कका नाममा रकम असुल्ने गिरोहहरू सामाजिक सञ्जालमा सक्रिय छन्। यस्ता भ्रामक म्यासेज वा पोस्टहरू सञ्चालन गर्नु र मानिसहरूको सोझोपनको फाइदा उठाउनु गम्भीर वित्तीय साइबर अपराध हो। यसले नागरिकको कडा परिश्रमको कमाइ क्षणभरमै गुम्ने जोखिम बढाउँछ।

फिसिङ भनिने नक्कली लगइन पेज वा भाइरस युक्त लिङ्कहरू म्यासेन्जर र ह्वाट्सएपमा फैलाएर अरूको खाता ह्याक गर्ने प्रयास पनि व्यापक बन्दै गएको छ। ‘यो भिडियो हेर्नुहोस्’ वा ‘फ्रि ब्यालेन्स पाउनुहोस्’ जस्ता प्रलोभन देखाएर मानिसहरूको व्यक्तिगत बैंकिङ विवरण, पासवर्ड वा ओटीपी कोड चोर्नु प्राविधिक डकैती हो। यसरी संकलन गरिएका विवरणबाट डिजिटल वालेट वा बैंक खाता खाली गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई बैंकिङ कसूर र साइबर अपराध दुवै ऐन अन्तर्गत कारबाही हुन्छ।

अर्कोतर्फ, चिनजानकै साथी वा आफन्तको खाता ह्याक गरेर वा उस्तै नक्कली प्रोफाइल बनाएर ‘म आपतमा परे, पैसा पठाइदेऊ’ भन्दै म्यासेन्जरमा रकम माग्ने सामाजिक इन्जिनियरिङ ठगी पनि निकै बढेको छ। त्यस्तै, विना दर्ता र विना बिल इन्स्टाग्राम वा फेसबुक पेज मार्फत व्यापार गर्ने, नक्कली ब्रान्डका कमसल सामान सक्कली भनी बेच्ने र एड्भान्स पैसा लिएर ग्राहकलाई ब्लक गर्ने कार्यहरू उपभोक्ता हित र डिजिटल वित्तीय कानुन विपरीतका ठगी धन्दा हुन्।

आजभोलि डिजिटल क्युआर कोडको दुरुपयोग गरेर अवैध रकम ओसार–पसार गर्ने वा जुआ र सट्टेबाजीको पैसा आफ्नो खातामा प्राप्त गर्ने प्रवृत्ति पनि देखिएको छ। आफ्नो डिजिटल खाता वा क्यूआर कोड अपरिचित व्यक्तिलाई प्रयोग गर्न दिनु कानुनको नजरमा अपराधको मतियार बन्नु हो । यदि उक्त खातामा ठगीको पैसा आएको प्रमाणित भएमा खातावाला सोझै कानुनी कारबाहीको भागीदार बन्नुपर्छ। अनलाइन सपिङका क्रममा सामान चित्त नबुझेर फिर्ता गर्न खोज्ने ग्राहकको फोन नम्बर र विवरण ‘ठग ग्राहक’भन्दै सार्वजनिक गर्नु पनि दण्डनीय छ ।

क्रिप्टोकरेन्सी जस्ता प्रतिबन्धित डिजिटल मुद्रा वा नेटवर्किङ मार्केटिङका अवैध वित्तीय योजनाहरूको प्रवद्र्धन सामाजिक सञ्जालबाट गर्नु नेपालको कानुन अनुसार पूर्णतः वर्जित छ।

कृत्रिम बौद्धिकताको प्रयोग गरी आवाज कपी गरेर परिवारकै सदस्य सङ्कटमा परेको भ्रामक नाटक रच्ने र पैसा असुल्ने गिरोहहरूका विरुद्ध सुरक्षा निकाय निकै आक्रामक बनेको छ। तसर्थ, डिजिटल माध्यमबाट हुने जुनसुकै आर्थिक कारोबारमा उच्च सतर्कता अपनाउनु र कानुनी दायराभित्र रहनु नै सुरक्षित हुने एक मात्र उपाय हो।

राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था र सामाजिक सहिष्णुता

सामाजिक सञ्जाल केवल व्यक्तिगत विचार राख्ने थलो मात्र होइन, यसले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा सीधा प्रभाव पार्दछ। नेपालको अखण्डता, सार्वभौमिकता वा राष्ट्रिय सुरक्षामा खलल पुग्ने गरी अनलाइनमा प्रचार–प्रसार गर्नु वा राज्य विरुद्ध विद्रोहको आह्वान गर्नु सबैभन्दा गम्भीर अपराध हो। नागरिकहरूलाई कानुन हातमा लिन वा सुरक्षा निकाय विरुद्ध हतियार उठाउन उक्साउने सामग्रीहरू पोस्ट गर्नु राज्य विरुद्धको कसूर मानिन्छ र यसमा कडा सजायको व्यवस्था छ।

हाम्रो देश बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको छ। कुनै विशिष्ट धर्म, सम्प्रदाय वा आस्थामाथि चोट पुग्ने गरी फेसबुक वा टिकटकमा लेख्नु, भिडियो बनाउनु वा घृणास्पद अभिव्यक्ति दिनु धार्मिक सहिष्णुता भत्काउने प्रयास हो। दुई समुदायबीच विवाद बढाउने र दङ्गा भड्काउने उद्देश्यले पुराना वा संवेदनशील भिडियो सेयर गर्नु पूर्ण रूपमा वर्जित छ। राष्ट्रिय झण्डालाई जलाउने, च्यात्ने वा संवैधानिक अङ्गहरूको अपमान हुने गरी सामग्री विकृत बनाउनु पनि दण्डनीय हुन्छ।

सार्वजनिक थलोहरू जस्तै सडक, अस्पताल वा संवेदनशील सरकारी कार्यालयमा सर्वसाधारणलाई बाधा पुग्ने गरी टिकटक वा रील्स भिडियो बनाउनु सार्वजनिक अशान्ति फैलाएको मानिन्छ। डिउटीमा रहेका प्रहरी वा सुरक्षाकर्मीलाई जिस्काउने, उनीहरूको काममा अवरोध पु¥याउने वा सुरक्षा फौजले चालेका गोप्य अपरेसनहरूको प्रत्यक्ष प्रसारण गरेर अपराधीलाई मद्दत पुर्याउनु कानुनी रूपमा वर्जित छ। समाजमा अशान्ति फैलिरहेको बेला उत्तेजना बढाउने गरी लाइभ बस्नु पनि अपराध नै हो।

विभिन्न महामारी, प्राकृतिक विपत्ति वा संवेदनशील घटनाको समयमा सत्य बिनाका झूटा समाचार, दुर्घटना वा जीवित व्यक्तिको मृत्युको हल्ला फैलाउनुले समाजमा अनावश्यक त्रास र कौतुहलता सिर्जना गर्दछ। यस्ता ‘डेथ होक्स’ वा झूटा हल्लाहरूले सम्बन्धित परिवार र समाजमा गम्भीर मानसिक आघात पु¥याउने हुँदा साइबर कानुनले यसलाई कडा नजरले हेर्दछ। कानुनले प्रतिबन्ध लगाएका सङ्गठन वा आपराधिक समूहको विचारलाई अनलाइन मार्फत प्रवद्र्धन गर्नु वा चन्दा संकलन गर्नु पनि यसै अन्तर्गत पर्दछ।

ह्वाट्सएप, भाइबर वा फेसबुक ग्रुपका एडमिन (सञ्चालक) हरूको जिम्मेवारी पनि यस सन्दर्भमा निकै महत्त्वपूर्ण हुन्छ। आफ्नो ग्रुपभित्र बाल अश्लीलता, राष्ट्र विरोधी वा घृणास्पद सामग्री पोस्ट हुँदा पनि त्यसलाई नहटाउनु वा मूकदर्शक बन्नु अपराधलाई प्रश्रय दिनु सरह हो। ग्रुपभित्र हुने साइबर अपराध रोक्न उपयुक्त कदम नचालेमा सञ्चालक पनि कानुनी दायरामा तानिन सक्छन्। तसर्थ, डिजिटल दुनियाँमा सामाजिक र राष्ट्रिय मर्यादाको ख्याल गर्नु प्रत्येक प्रयोगकर्ताको परम कर्तव्य हो।

संवेदनशील वर्गको संरक्षण र नैतिक मर्यादा

डिजिटल माध्यमको प्रयोग गर्दा समाजका संवेदनशील वर्गहरू जस्तै बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ। बालबालिकाको नग्न वा आपत्तिजनक तस्बिर÷भिडियो आफ्नो मोबाइलमा राख्ने, डाउनलोड गर्ने वा सामाजिक सञ्जालमा सेयर गर्ने कार्य अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुन अनुसार अक्षम्य र सबैभन्दा गम्भीर साइबर अपराध हो। बालबालिकालाई प्रलोभनमा पारेर अनलाइन मार्फत गलत क्रियाकलापमा लगाउने प्रयासविरुद्ध कठोर सजायको प्रावधान छ।

धेरै भ्यूज र लाइक पाउने लोभमा आफ्ना वा अरूका ससाना बालबालिका रोएको, डराएको वा उनीहरूमाथि खतरनाक प्र्याङ्क गरिएको भिडियो खिचेर अनलाइनमा हाँसोको पात्र बनाउनु बाल अधिकार र बाल मनोविज्ञान विरुद्धको कार्य हो। बालबालिकाको मन्जुरी बुझ्न नसक्ने उमेरमा उनीहरूको गोपनीयतालाई भाइरल बन्ने माध्यम बनाउनु नैतिक र कानुनी दुवै रूपमा गलत छ। त्यस्तै, अपाङ्गता भएका वा बोल्न र हिड्न गाह्रो हुने व्यक्तिहरूको हाउभाउको मजाक उडाई टिकटक बनाउनु गम्भीर साइबर बुलिङ हो।

यौनजन्य दुव्र्यवहार, अश्लील सामग्रीको पोस्ट वा प्रयोगकर्ताको इच्छा विपरीत इनबक्समा नग्न तस्बिरहरू पठाउनु अनलाइन उत्पीडनको श्रेणीमा पर्दछ । पुराना प्रेम सम्बन्धका गोप्य तस्बिरहरू रिसको झोकमा इन्टरनेटमा सार्वजनिक गरेर बदला लिने कार्यले कतिपयको ज्यान समेत जाने गरेको छ । आत्महत्या वा आत्महानी गर्न लागेको दृश्य फेसबुक वा टिकटकमा लाइभ गर्नु वा अरूलाई आत्महत्या गर्न उक्साउने खालका टिप्पणी र खतरनाक च्यालेन्जहरू सञ्चालन गर्नु कानुन बमोजिम वर्जित छ।

विद्यालय र कलेजका विद्यार्थीहरू मिलेर मेसेन्जर ग्रुपहरूमा ग्याङ बनाई अर्को विद्यालयका विद्यार्थी विरुद्ध संगठित रूपमा अश्लील गालीगलौज र ट्रोल गर्ने प्रवृत्तिले युवा वर्गमा मानसिक तनाव र डिप्रेसन बढाएको छ। कसैको संवेदनशील रोग लागेको मेडिकल रिपोर्ट उसको अनुमति बिना सार्वजनिक गरेर सामाजिक लाञ्छना लगाउनु स्वास्थ्य गोपनीयताको हनन हो। वैदेशिक रोजगारीमा दुःख पाएका वा अस्पतालमा रहेका नेपाली कामदारहरूको अनुमति बिना भिडियो खिचेर भावनात्मक व्यापार गर्नु पनि मानवता विरोधी कृत्य हो।

अन्त्यमा, इन्टरनेटमा अरूले मेहेनत गरेर बनाएको ओरिजिनल भिडियो, फिल्मको क्लिप, साहित्य, कविता वा कलाकृति अनुमति र क्रेडिट बिना आफ्नो नाममा अपलोड गर्नु बौद्धिक सम्पत्ति र कपीराइटको उल्लंघन हो। सशुल्क एपहरूको क्र्याक भर्सन वा पाइरेटेड लिङ्कहरू बाढ्नु पनि चोरीकै रूप हो। डिजिटल संसारमा नैतिक मर्यादा भुलेर भाइरल हुने दौडमा लाग्नुले ढिलो वा चाँडो कानुनी फन्दामा पार्ने निश्चित भएकाले यस तर्फ युवा पुस्ता अत्यन्तै सचेत हुन जरुरी देखिन्छ।

निष्कर्षमा, सामाजिक सञ्जाल र डिजिटल प्रविधि आफैमा खराब होइनन्, बरु यसको प्रयोग गर्ने हाम्रो तरिका र प्रवृत्तीले यसको सही वा गलत निर्धारण गर्दछ। इन्टरनेटको संसारमा सुरक्षा र मर्यादा कायम राख्नका लागि कानुनी ज्ञानको अहम् भूमिका हुन्छ। ‘मलाई कानुन थाहा थिएन’ भन्दैमा अपराधको सजायबाट बच्न नसकिने स्थापित कानुनी सिद्धान्तलाई सधै स्मरण गर्नुपर्दछ। सामाजिक सञ्जालमा गरिने एउटा सानो हेलचेक्र्याइ, एउटा गलत क्लिक वा सेयरले कसैको जीवन बर्बाद पार्न सक्छ र आफूलाई पनि अपराधीको श्रेणीमा उभ्याउन सक्छ।

तसर्थ, डिजिटल शिक्षा र साइबर सचेतनालाई विद्यालय तहदेखि नै व्यापक बनाउनु आवश्यक छ। नागरिकहरूले मोबाइल चलाउँदा अरूको गोपनीयता, राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र नैतिक मर्यादाको सधै कदर गर्नुपर्छ। प्रविधिको प्रयोग सिर्जनशीलता, ज्ञानको आदान–प्रदान र सकारात्मक परिवर्तनका लागि हुनुपर्छ, न कि कसैलाई ठेस पु¥याउन। हामी सबैले डिजिटल माध्यमको जिम्मेवार र अनुशासित प्रयोग गर्ने प्रतिज्ञा गरेमा मात्र एउटा सुरक्षित, सभ्य र अपराधमुक्त डिजिटल समाजको निर्माण सम्भव हुनेछ।

(लेखक नेपाली सेनाका पूर्व सैनिक अधिकृत र राजनीतिशास्त्रका अध्येता हुन्)