गृहपृष्ठ काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’ : जेठ महिनामा झन्डै साढे चौध सय पक्राउ, २१ विदेशी महिला डिपोर्ट
काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’ : जेठ महिनामा झन्डै साढे चौध सय पक्राउ, २१ विदेशी महिला डिपोर्ट
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालन गरेको ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
उपत्यकामा अपराध न्यूनीकरण तथा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ चालिएको यस अभियानका क्रममा काठमाडौँका विभिन्न क्षेत्रबाट १९९ महिला, एक हजार २१८ पुरुष र अन्य तीन जना पक्राउ परेका हुन्।
परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोही अवधिमा ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकलाई अश्लिल कार्यका लागि दुःख हैरानी दिने युगाण्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश र केन्याका २१ महिलालाई समेत नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिएको छ।
प्रहरीले जेठ महिनामा मात्रै विभिन्न प्रकृतिका कुल एक हजार १६० वटा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। जसमा जघन्य तथा गम्भीर अपराधतर्फ २५७, आर्थिक अपराधतर्फ ४९४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५१ र अन्य विधाका ३५८ मुद्दा रहेका छन्। यी चालु मुद्दातर्फ प्रहरीले १२२ महिला र ८८२ पुरुष गरी कुल एक हजार चार अभियुक्तलाई पक्राउ गरेको छ।
यसबाहेक सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दामा अनुसन्धान भइरहेको छ भने हुण्डी कारोबारतर्फ २० लाख ७५ हजार ५०० रुपैयाँ बिगो कायम गरी दुईवटा मुद्दा दर्ता गरिएको परिसरले जनाएको छ।
जेठ महिनामा काठमाडौँमा राजनीतिक तथा सामाजिक संघसंस्थाहरूका तर्फबाट ३०९ वटा धर्ना, ७७ वटा विरोध कार्यक्रम, छ वटा मसाल जुलुस, चार वटा रिले अनसन र तीन वटा कोणसभासहित कुल ४३४ वटा सडक कार्यक्रमहरू भएका थिए।
ती प्रदर्शन र कार्यक्रमहरूको सुरक्षा व्यवस्थापनका लागि मात्रै १० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालित हुनुपरेको थियो। समग्र काठमाडौँको शान्ति सुरक्षालाई चुस्त राख्न मोबाइल चेकिङ, पैदल तथा मोटरसाइकल गस्ती, ड्युटी अनुगमन र एसआरपीअन्तर्गत सो अवधिमा कुल ६७ हजार ९४९ प्रहरी जनशक्ति मैदानमा उतारिएको थियो।
यसैगरी, आर्थिक अपराध र अवैध कारोबार विरुद्धको कारबाहीका क्रममा काठमाडौँ प्रहरीले दुई थान बन्दुक र ४६ राउन्ड गोलीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली गरेर भित्र्याइएका २३ लाख ९९ हजार रुपैयाँ बराबरको हरियो केराउ, कोइला, चश्मा, बिस्कुट, मोबाइल र शक्तिबद्र्धक पेय पदार्थ समेत बरामद गरी आवश्यक कारबाहीका लागि पठाइएको परिसरले जनाएको छ।
प्रकाशित समय : १४:१७ बजे



















