काठमाडौं । काठमाडौंको कोलाहल र व्यस्त दिनचर्याबाट केही समय टाढा रहेर शान्ति खोज्नेहरूका लागि बुढानीलकण्ठस्थित ‘हरे कृष्ण धाम’ (इस्कोन मन्दिर) एक प्रमुख गन्तव्य बन्दै गएको छ ।

शिवपुरी पहाडको काखमा अवस्थित यो धाम पछिल्लो समय धार्मिक तथा आध्यात्मिक पर्यटनको एक उत्कृष्ट केन्द्रका रूपमा विकास भइरहेको छ ।

प्राकृतिक सुन्दरता र आध्यात्मिक वातावरणको अनुपम सङ्गम रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उपस्थिति दिनप्रतिदिन बढ्दो छ ।

मन्दिर परिसरमा प्रवेश गर्ने बित्तिकै देखिने आकर्षक बगैँचा र कालिया मर्दनको भव्य मूर्तिले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्दछ। मन्दिरको मुख्य हलमा स्थापना गरिएका श्री श्री राधा गोविन्द हरि, श्री श्री गौर निताई, र श्री जगन्नाथ, बलदेव तथा सुभद्राका आकर्षक विग्रहहरूले भक्तजन तथा पर्यटकलाई मन्त्रमुग्ध पार्छन् ।

यहाँको शान्त र स्वच्छ वातावरणले पर्यटकहरूलाई मानसिक तनावबाट मुक्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने यहाँ आउने दर्शनार्थीहरू बताउँछन् ।

यस धाममा दैनिक रूपमा हुने मंगल आरती, सुमधुर भजन–कीर्तन, र श्रीमद्भागवतम् प्रवचनहरूले यहाँको वातावरणलाई सधैँ गुञ्जायमान र पवित्र बनाइराख्छ ।

यसका साथै, मन्दिर परिसरमा उपलब्ध हुने शुद्ध शाकाहारी तथा सात्विक कृष्ण प्रसाद यहाँ आउने पर्यटकहरूको विशेष रोजाइमा पर्ने गरेको छ । खानालाई केवल पेट भर्ने माध्यम मात्र नभई आध्यात्मिक ऊर्जाको रूपमा ग्रहण गरिने हुनाले पनि यसको लोकप्रियता बढेको हो।

मन्दिर व्यवस्थापन समितिका अनुसार हरे कृष्ण धाममा दैनिक रूपमा सञ्चालन हुने मंगल आरती, सन्ध्या आरती, भजन–कीर्तन तथा श्रीमद्भागवत प्रवचन यहाँको प्रमुख आकर्षण हुन्। बिहान साढे ४ बजे सुरु हुने मंगल आरतीसँगै धार्मिक गतिविधि प्रारम्भ हुन्छ भने बिहान साढे ५ बजे श्रीमद्भागवत कक्षा सञ्चालन गरिन्छ। यस्तै, साँझ ६ः३० बजे सन्ध्या आरती र ७ः३० बजे शयन आरती हुने गर्दछ।

बुढानीलकण्ठ क्षेत्र आफैँमा ऐतिहासिक र धार्मिक रूपमा महत्त्वपूर्ण स्थल हो। त्यसमाथि इस्कोन मन्दिरको व्यवस्थित र शान्त वातावरणले काठमाडौं उपत्यकाभित्र ‘एकदिने धार्मिक पर्यटन’ लाई ठुलो टेवा पुर्याएको छ। विशेषगरी सप्ताहन्त (शनिबार) र बिदाका दिनहरूमा यहाँ पारिवारिक भ्रमणमा आउनेहरूको संख्या उल्लेखनीय रहने गरेको छ।