गृहपृष्ठ एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स नेपालको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा खतिवडा निर्वाचित
एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स नेपालको प्रथम साधारण सभा सम्पन्न, अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडौं । एसोसिएसन अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अफ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको उन्नति र व्यावसायिक सुशासनका लागि भन्ने मूल नारासहित ललितपुरस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा शनिबार सम्पन्न सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ ।
सभाबाट अध्यक्षमा कुमारप्रसाद खतिवडा निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा हरिन्द्रराज घिमिरे, महासचिवमा केशवराज लम्साल, सचिवमा भूमिराज आचार्य, कोषाध्यक्षमा ज्ञानकृष्ण श्रेष्ठ तथा सह–कोषाध्यक्षमा शर्मिला मुनिकार निर्वाचित भएका छन् ।
सदस्यहरूमा सानुबाबु न्यौपाने, राधाकृष्ण भण्डारी, ममता आचार्य, सुनिल रिजाल, दुर्गादेवी डंगोल, रामचन्द्र रुपाखेती तथा सुजाता क्षेत्री निर्वाचित भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।
सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कुमारप्रसाद खतिवडाले द्रुत रूपमा विकसित हुँदै गएको नेपालको अर्थतन्त्रमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्सको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । यसले परम्परागत लेखा र रणनीतिक नेतृत्वबीचको खाडल पुर्दै लागत कटौती, जोखिम व्यवस्थापन तथा व्यावसायिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले आर्थिक समृद्धिका लागि वैधानिक लागत लेखापरीक्षणसम्बन्धी कानुन निर्माण गरी नियामक संस्था स्थापना आवश्यक रहेको बताए । यसका लागि कानुनी तथा प्रक्रियागत कामहरू धेरै अगाडि बढिसकेको जानकारी पनि उनले दिए ।
संस्थाको सांगठनिक सुदृढीकरण र व्यावसायिक मर्यादालाई अझ उचाइमा पुर्याउने उद्देश्यले आयोजित उक्त साधारण सभाले संस्थाको आगामी कार्यदिशा तथा व्यावसायिक सुशासनका विषयमा महत्वपूर्ण छलफल गरेको संस्थाले जनाएको छ ।
नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन योग्य तथा दक्ष जनशक्ति अपरिहार्य बन्दै गएको सन्दर्भमा संस्थाको भूमिका अझ महत्वपूर्ण हुने विश्वास संस्थाले लिएको छ ।
त्यस्तै, सभामा नेपालको बजेट निर्माण, पब्लिक कम्पनीका कामकारबाही, सार्वजनिक सरोकारका लागत निर्धारणलगायत लागत लेखापरीक्षण ऐनको महत्वबारे पनि प्रकाश पारिएको थियो ।
उक्त साधारण सभामा संस्थाका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू तथा सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १३:१९ बजे



















