गृहपृष्ठ साउनदेखि राष्ट्रिय परिचय नम्बरबिना डिम्याट खाता खोल्न नपाइने
साउनदेखि राष्ट्रिय परिचय नम्बरबिना डिम्याट खाता खोल्न नपाइने
काठमाडौं । आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचय नम्बरबिना नयाँ डिम्याट खाता खोल्न नपाइने भएको छ। पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउने उद्देश्यसहित सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ व्यवस्था लागू गर्न लागेको हो।
कम्पनीद्वारा जारी सूचनाअनुसार जेठ १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार अब नयाँ डिम्याट खाता खोल्ने तथा विद्यमान खाताको केवाईसी (KYC) विवरण अद्यावधिक गर्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
यस व्यवस्थासँगै पूँजीबजारका लगानीकर्ताको अभिलेख राष्ट्रिय परिचय प्रणालीसँग आबद्ध हुने भएको छ। सिडिएसका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेखनीय रूपमा वृद्धि भएसँगै लगानीकर्ताको विवरणलाई एकीकृत, अद्यावधिक र विश्वसनीय राख्न चुनौती थपिएको छ। सोही चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय परिचय नम्बरलाई डिम्याट प्रणालीसँग जोड्न लागिएको हो।
सिडिएसले राष्ट्रिय परिचय नम्बरको प्रयोगबाट एउटै व्यक्तिका नाममा दोहोरो खाता खोल्ने, त्रुटिपूर्ण विवरण राख्ने तथा पहिचानसम्बन्धी अन्य समस्याहरू नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस व्यवस्थाले लगानीकर्ताको विवरण प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारको डिजिटल पूर्वाधारलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित समय : ०८:५६ बजे



















