काठमाडौं । फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तर मेहनत, लगनशीलता र संघर्ष आवश्यक पर्ने बताइन् ।
उनले एलजीबीटीक्यूए समुदायको अधिकार तथा मानवअधिकारका क्षेत्रमा काम गरेपछि कला क्षेत्रमा प्रवेश गर्दा धेरै चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाइन् । कला क्षेत्रमा आउँदा आवश्यक अनुभव र ज्ञान नभएकाले सिक्न समय लागेको भए पनि निरन्तर प्रयास र मेहनतले आफूलाई स्थापित गर्न सफल भएको उनले बताइन् ।
उनले भनिन्, ‘ जुन सुकै क्षेत्र होस्, सजिलो कहाँ हुन्छ र, काम गर्न सजिलो हुँदैन गाह्रो हुन्छ, तर दुख, मेहनत र लगनशील भएर काम गर्यो भने, सबै कुरा प्राप्त गर्न सकिँदो रहेछ भन्ने चाहिँ मलाई लागेको छ । एलजीबीटीआइक्यूए राइट्स एक्टिभिस्ट अथवा ह्युमन राइट्स एक्टिभिस्टको रुपमा काम गर्दा र त्यसपछाडिको यो कला क्षेत्रमा जम गर्ने जुन एउटा ड्युरेसन थियो, त्यो सजिलो चाहिँ पक्कै थिएन । विभिन्न चुनौतीहरू थिए । कला क्षेत्रमा प्रवेश गर्न जाँदा, पहिला कुरा मलाई त त्यो अनुभवहरू, ज्ञानहरू केही थिएन, अनि त्यो सिक्न नै मलाई टाइम लाग्यो, तर सम्भवत मैले सिके पनि, राम्रोसँग मेहनत पनि गरे, खुसी लाग्छ, गर्व लाग्छ ।’
अभिनेत्री लामाले ‘इलिफेन्ट इन द फग’ले कान्स फिल्म फेस्टिभलमा प्राप्त गरेको अन्तर्राष्ट्रिय सफलताले नेपाली तथा एलजीबीटीक्यूए समुदायका कथाहरूलाई विश्वमञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरिन् । विश्वले चलचित्र र यसले उठाएका विषयवस्तुलाई स्वीकार गरिसकेको उल्लेख गर्दै उनले अब नेपाली दर्शकले पनि चलचित्रलाई आत्मसात् गर्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘ब्लु डायमण्ड’ सोसाईटीको सहयोगले पनि ‘तिनीहरू’, अर्थात ‘एलिफेन्ट्स इन द फग’ले ‘कान्स फिल्म फेस्टिवल’मा, दुई–दुईवटा अवार्ड जुन ल्यायो, त्यो नै एउटा प्रतीक हो, विश्व मञ्चले हेरिसक्यो, अब नेपालमा चाहिँ हेर्न बाँकी छ । विश्वले चलचित्र र यसले उठाएका विषयवस्तुलाई स्वीकार गरिसकेको छ । अब नेपाली दर्शकले पनि चलचित्रलाई आत्मसात् गर्ने विश्वास छ ।’
पुष्पाले ‘तिनीहरू’ मानव संवेदनामा आधारित आमा–छोरीको संघर्षपूर्ण जीवनकथा भएको बताउँदै समाजको छायाँमा पारिएका मानिसहरूको कथा प्रस्तुत गरिएको जानकारी दिइन् । उनले चलचित्र हेरेर यसको सन्देश बुझ्न दर्शकलाई आग्रह समेत गरिन् ।




















