गृहपृष्ठ ‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’ (भिडियो सहित)
‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’ (भिडियो सहित)
काठमाडौं । श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए मैले हिजो त्यो प्रश्न नै सोध्ने थिइनँ । आज मलाई आफैंलाई लज्जास्पद महसुस भइरहेको छ । त्यसकारण प्रधानमन्त्रीको अभिव्यक्ति केवल रेकर्डबाट हटाउने कुरा मात्र होइन, यसले इतिहासमा एउटा गलत नजिर स्थापित गरेको छ ।’
राईले प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा नेपालको सीमा र भूभागसम्बन्धी दाबीमा समेत असर पार्न सक्ने तर्क गरे। उनले भने, ‘भोलि कुनै देशले ‘तिम्रै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेका छन्, अब हाम्रो भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि दिने, सभामुख महोदय ?’
प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै राईले सदनमार्फत रुलिङ गर्न पनि माग गरे। उनले भने, ‘जसरी प्रधानमन्त्रीले राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिनुभएको छ, उहाँ यही सदनमा आएर माफी माग्नुपर्छ र आफ्नो शब्द फिर्ता लिनुपर्छ । हामी कसैको भूमि मिच्दैनौं र कसैलाई आफ्नो भूमि मिच्न पनि दिँदैनौं। यो कुनै पार्टी विशेषको विषय होइन, सम्माननीय सभामुखमार्फत रुलिङ गरियोस् र प्रधानमन्त्रीले आफ्नो शब्द फिर्ता लिएर यस्तो नजिर हटाउनुपर्छ ।’
प्रकाशित समय : १५:४१ बजे



















