global ime bank Long Banner Ad

गृहपृष्ठ मत्स्यनारायणमा मेला भर्नेको घुइँचो

मत्स्यनारायणमा मेला भर्नेको घुइँचो

मत्स्यनारायणमा मेला भर्नेको घुइँचो

काठमाडौँ  । यही जेठ ३ गतेदेखि चन्द्रगिरि नगरपालिका – मत्स्यनारायण मन्दिरमा मेला लागेको छ । यो वर्ष अधिकमास (पुरुषोत्तम महिना) परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढेको हो । मन्दिरमा नारायणको दर्शन २० मिनेटभित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चन्द्रगिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उपत्यकाका विभिन्न स्थानबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको “साथमा मन्दिर परिसरको भौतिक सुधार, मेला र मन्दिरका थप पक्ष उजागर गर्न अध्ययन अनुसन्धान र राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका लागि गुरुयोजना अघि बढाएका छौँ”, उनले भने ।

चन्द्रगिरि-९ का वडाध्यक्ष अच्युत अधिकारीले मन्दिर परिसर र वरपरका पुरातात्विक संरचनामा रहेका कङ्क्रिट संरचना क्रमशः हटाउँदै मौलिकपन कायम गरिने  मेला अविधभर दर्शनार्थी व्यवस्थापन, खानेपानी, सरसफाइ र स्वास्थ्य व्यवस्थापनका लागि एक दर्जन सामाजिक संस्था क्रियाशील रहेको बताए ।

“मन्दिरमा पुरुषोत्तम मेला लागिरहेको छ । पुरुषोत्तम मास माहात्म्यका अनुसार सृष्टिको सुरुमा अपहेलित यो मासले भगवान् पुरुषोत्तम (नारायण) को तपस्या गर्‍यो । त्यसपछि नारायणले उक्त मासको स्वामित्व लिएको भन्ने जनविश्वाससहित यस मासलाई पुरुषोत्तम महिना भनिएको हो”, मन्दिरका पुजारी सुदामाप्रसाद आचार्यले भने ।

उनका अनुसार अन्य कुनै पनि तिथि अनुसारका श्राद्ध, यज्ञ तथा पूजा आदि नैमित्तिक एवं काम्य कर्म नहुने यो महिनामा मत्स्य तीर्थ मानिने मत्स्यनारायणको मन्दिरमा पुगी स्नानसहित दर्शन र पूजाअर्चना गरेमा सयौँ अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ ।

लिच्छविकालीन वास्तुकला र शिल्पमा आधारित मत्स्यनारायण मन्दिर र त्यहाँका देवालयहरु उपत्यकाका प्राचीन सम्पदामध्यको एक मानिन्छ । परिसरलाई अतिक्रमणबाट जोगाउन नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख गिरीले जानकारी दिए ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु